चिनियाँ नगरसँग ललितपुरको भगिनी सम्बन्ध

ललितपुर (हिटा) । ललितपुर महानगरपालिका र चीनको चिनख्वा महानगरपालिकाबीच शैक्षिक, आर्थिक, सांस्कृतिक, व्यापारिक तथा प्राविधिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । 

दुवै महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने आसयपत्रमा हस्ताक्षर गरिएको छ । आसयपत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र चिनखुवा महानगरपालिकाका प्रमुख ख्वाङ्ग चीन छावले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा उपस्थिति विदेशी पाहुनालाई नगरप्रमुख महर्जन र उपप्रमुख गीता सत्यालले खादा र टोपी लगाएर स्वागत गरेका थिए । 

नगर प्रमुख महर्जनले दुई सहरबीचको यो सम्बन्धले चीन र नेपालबीचको परापूर्वकालदेखिको सम्बन्धमा नयाँ आयाम  थपिने बताए । यो भगिनी सम्बन्धले दुई देशको सम्बन्धमा प्रगाढता आउने महर्जनले बताए । 

शैक्षिक, आर्थिक, सांस्कृतिक लगायतका क्षेत्रमा यो सम्बन्धले एक आपसमा सिक्ने र सिकाउने सघाउने नगरप्रमुख महर्जनको भनाइ छ । चिनख्वा महानगरपालिकाका प्रमुख छावले दुवै सहरको समृद्धि र विकासका लागि यो हस्ताक्षरपछिको सम्बन्ध कोशेढुंगा सावित हुने बताए । उनले ललितपुर प्राचीन र कलाको सहर भएको बताउँदै ललितपुरले आफूलाई आकर्षित गरेको बताए । 

चीन ख्वामहानगरपालिकाका आर्थिक रूपले सशक्त मानिन्छ । कृषि वनजन्य उत्पादन तथा प्रशोधन केन्द्र, मासु, डेरी जन्य पदार्थ, मौरीपालन, विद्युतीय उपकरण लगायतका उद्योगमा पनि यो महानगर अग्रणी रहेको छ । 

स्तनपान कक्ष स्थापना 

ललितपुर महानगरपालिकाको समाज कल्याण महाशाखामा स्तनपान कक्षको स्थपाना गरिएको छ । शुक्रबार छाबहालस्थित महानगरको समाज कल्याण महाशाखाको कार्यालयमा उपमेयर गीता सत्यालले स्तनपान कक्षको उद्घाटन् गरिन् ।  

‘आमा बाबुको सक्षमता स्तनपानको सफलता’ भन्ने नाराका साथ सुरु भएको स्तनपान सप्ताहका अवसरमा ललितपुर महानगरले स्नतपान कक्षको सुरुवात गरेको हो । कार्यालयमा कार्यरत महिला कर्मचारीहरू र सेवाग्राहीहरूको मातृशिशुको स्वास्थ्यलाई ध्यानका राखेर स्तनपान कक्षको स्थापना गरेको उपमेयर सत्यालले बताइन् ।