दाताको खोजीमा गाईखुरा महादेव

दोलखा जिल्ला मेलुङ गाउँपालिका–२ सुकाठोकरमा प्रख्यात ऐतिहासिक धार्मिक तीर्थस्थल रहेको छ । त्यहाँको गाईखुरा महादेवका रूपमा परिचित शिवमन्दिर पुनर्निर्मान गर्नुपर्ने आवश्यकता छ । यो पुरातात्विक मौलिक स्वरूपको मन्दिर पुनर्निर्माण गर्न दाताको खोजी भइरहेको छ । निर्माण गरिने तीन तलाको मन्दिरमा तामाको छाना हालिने भएको छ ।

सो कुराको बारेमा पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई मन्दिर व्यवस्थापन समितिले जानकारी गराएको छ । विकास र समृद्धिको कुरा गर्ने हो भने सरकारले अरूभन्दा धर्म, संस्कृति र ज्ञानको संरक्षण गर्न सकेमात्र सोचेको कुरा सफल हुनेछ । मन्दिर एरिया सानो भएकाले वरपरका व्यक्तिको कम्तीमा दश रोपनी जग्गा मन्दिरको नाममा ल्याउनुपर्ने भएको छ र यसको पहल सुरु गरिएको छ । 

मन्दिरको तल्लो भाग पूरै भिरालो भएकोले मेलुङ गाउाँपापालिकाले पन्ध्र लाख बजेट विनियोजन गरी कम्पाउण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । पुरानो मन्दिर भत्काई पुनर्निर्माण गर्नुपर्ने विज्ञहरूको सुझाब छ । यसलाई ध्यानमा राखी कम्तीमा सात करोड लाग्ने हुँदा आर्थिक स्रोतको व्यवस्था गर्न दाताको खोजी भइरहेको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठको भनाइ छ । 

दुई पहेला जीवित नाग बेला बेलामा गाईखुरा महादेवको शिलालाई बेरेर बस्न थालेपछि दर्शनार्थीको भीड लाग्ने गरेको छ । एक शिला, पाँच अवतार तीन शक्ति भएका गाईखुरा महादेवको दर्शन पूजापाठ गर्नाले अकालमा मृत्यु नहुने, दैविक आपत् विपत् हुनबाट बचाउने, दुर्घटना हुनबाट जोगाउने, रोगब्याधी ठीक हुने, विद्या बढ्नेजस्ता धार्मिक विश्वासका कारण दर्शनार्थीहरूको भीड लाग्न थालेको स्थानीयहरूको दावि छ । १६ सय चालीस सालतिर एउटा कैलो गाईले आफैं चारै थुनबाट दूध दिइरहेको अवस्थामा गोठालाले देखेपछि खनेर त्यहाँ मन्दिर बनाएको किम्वदन्ति छ ।

पहिलेकै स्वरूपमा कम्पाउण्ड निर्माण गरी पूजापाठ हुँदै आएको बुढापाकाको भनाइ छ । अहिले पनि रङरङका नाग बेलाबेलामा शिलामै घुमिरहेको देख्न सकिन्छ । धार्मिक मान्यता साथै प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध गाईखुरा महादेवको शिलामा गाईको पाइला र थुन, बाघको पञ्जा, शिव लिंगआसपामा स्पष्ट देख्न सकिन्छ । सो मन्दिरमा वेद, रुद्री, सवा लाख बत्ती बालेर दर्शन गर्दा धन प्राप्ति, सुख शान्ति हुने विश्वासले दोलखालगायत रामेछाप सिन्धुपाल्चोक काठमाडौं उपत्यकाबाट पनि दर्शनार्थीहरू जाने गरेका पाइन्छ । यो ठाउँसम्म मोटर यात्रामा पुगिन्छ ।

मन्दिरको कुनै आयस्रोत वा अक्षयकोष केही नभएको हुनाले उक्त मन्दिर संरक्षण तथा सम्बद्र्धन गर्न स्थानीयको सक्रियतामा गाईखुरा क्लब स्थापना गरिएको र सोही क्लबद्वारा गाईखुरा महादेव मन्दिरको संरक्षण, सम्बन्धन, प्रचारप्रसार र आर्थिक संकलन गरी रकम उठाउने गरिएको छ । भक्तजनहरूबाट उठेको रकम जम्मा गरी सो रकमबाट दैनिक रुद्री तथा पूजापाठ गर्ने गरिएको पाइन्छ ।

पाँच अवतार भएको शिलामा जलधाराबाट चढाइएको दूध र जल शिलामा आफैं सोसिन्छ । ६० लिटर गाईको दूध ७ घण्टासम्म भक्तजन आफैं बसेर निरन्तर वेद र रुद्री गर्दै जलधाराबाट चढाइएको सबै दूध शिलामा आफैं सोसिने गरेको कुरा दर्शनार्थीले बताउने गरेका छन् । यसका साथै लाखौं खर्च गरी देश विदेशमा उपचार गर्दा पनि निको नभएको रोग हरेक दिन गाईखुरा महादेवको दर्शन गर्दा निको भएको बताउने गरिएको छ । 

मेलुङ गापा अध्यक्ष नरबहादुर श्रेष्ठको भनाइअनुसार गाईखुरा महादेव मन्दिर क्षेत्रमा आन्तरिक तथा बाहृय धार्मिक पर्यटक भिœयाउने योजना छ । उनकाअनुसार सो क्षेत्रलाई धार्मिक पर्यटकको रूपमा विकास गर्न मेलुङ गापाले गुरुयोजना बनाई सकेको छ । यसको जानकारी सम्बन्धित निकायलाई गराइसकिएको छ ।