काठमाडौं । सन् २०१८ मार्च १२ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका सातजना एमबिबिएस विद्यार्थीका आफन्तले २ अर्ब क्षतिपूर्ति दाबीसहित बुधबार कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् ।
हकवाला उनीहरूका आश्रित पीडित आमाबाबुले वायुयानधनी सञ्चालक कम्पनीविरुद्ध २ अर्ब १० करोड रुपैयाँ अर्थात् १९ मिलियन ९० हजार अमेरिकी डलरभन्दा बढी क्षतिपूर्ति रकम दाबी गरी मुद्दा दायर गरेका हुन् । दुर्घटना भएको १६ महिना बितिसक्दा पनि कम्पनीको तर्फबाट अन्तर्राष्ट्रिय कानुनअनुसार मागदाबी गरिएको क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरिएपछि बाध्य भई मुद्दा दायर गर्नुपरेको पीडितका परिवारले जनाएका छन् ।
उक्त दुर्घटनामा मृत्यु भएका एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबुबाले मुद्दा दायर गरेका हुन् ।
वायुयान धनी र सञ्चालकको दायित्वसम्बन्धी अन्तर्राष्ट्रिय कानुनअनुसार क्षतिपूर्ति प्राप्तिका लागि नेपाल पक्ष रहेको मोन्ट्रियल कन्भेन्सन १९९९, वार्सा कन्भेन्सन १९२९ र हेग प्रोटोकल १९५५ एवं दुष्कृति कानुबमोजिम रङफूल डेथबापत निर्धारित क्षतिपूर्ति रकम एकमुष्ट दिलाउने भराउनेसम्बन्धी मुद्दा पीडिततर्फबाट काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको पीडितका प्रमुख कानुनी सल्लाहकार अधिवक्ता अमृत खरेलले जानकारी दिएका छन् ।
दुर्घटना सम्बन्धमा जाँचबुझ गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठन गरेको दुर्घटना जाँच आयोग, २०१८ ले आइकाओ अनुसूची १३ को सिद्धान्तसमेतको आधारमा दुर्घटनाको कारणबारे अनुसन्धान गरी तयार पारेको अन्तिम प्रतिवेदनअनुसार मुद्दा दायर गरिएको पीडित परिवारका प्रतिनिधि विदुरमान श्रेष्ठले जानकारी दिए ।
पीडित यात्रुको ज्यान जानेगरी भएको उक्त युएस–बंगला बीएस–२११ विमान दुर्घटना प्रतिवादी वायुयान धनी र सञ्चालक युएस–बंगला एयरलाइन्स र सो कम्पनीबाट उक्त विमान हवाई उडानका लागि खटिएका कम्पनीको प्रतिनिधि र सेवकका रूपमा कार्यरत प्रमुख चालकको गम्भीर हेलचेक्र्याइँ, असावधानी, गल्ती र चरम लापरबाहीका कारण भएको हो भन्ने तथ्यका आधारमा पीडितले क्षतिपूर्ति रकमको विशेषज्ञ मूल्यांकन गराई दाबी गरिएको उनले बताएका छन् । उक्त निर्धारित क्षतिपूर्ति रकमका अतिरिक्त मन्ट्रियल महासन्धिको धारा २१ अनुच्छेद १ बमोजिमको १ लाख १३ हजार स्पेशल ड्रइङ राइट्सले हुन आउने रकम र मन्ट्रियल महासन्धिको धारा २२ को अनुच्छेद ६ बमोजिम मुद्दामा लाग्ने अदालती शुल्क एवं मुद्दा मामिला गर्दा लाग्ने खर्च र त्यसमा लाग्ने ब्याजसमेत थप गरी एकमुष्ट रकम वायुयान धनी र सञ्चालक युएस–बंगला एयरलाइन्सबाट दिलाउन माग गरिएको छ ।




















