‘वाह नेपाल एयरलाइन्स’ भन्ने दिन आउँछ – योगेश भट्टराई

काठमाडौैं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले ‘वाह नेपाल एयरलाइन्स’ भन्ने दिन आउने बताएका छन् ।

बुधबार सपथ ग्रहण पश्चात पदभार ग्रहणसँग मन्त्री भट्टराईले यस्तो बताएका हुन्  । उनले गल्ती भए सच्याएर अगाडि बढ्ने बताउँदै पोखरा र गौतमबुद्ध विमानस्थल सकेसम्म तोकिएको समयभन्दा पहिले नै र भएन भने पनि तोकिएको समय भित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको प्रगतिका विषयमा छलफल गर्ने बताउँदै उनले नेपाल एयरलाइन्स, नागरिक उड्डयनको क्षेत्रमा जे जोखिम र चुनौती छन् त्यसलाई समाधान गर्दै अघि बढ्ने बताए । उनले भने, ‘नेपाल एयरलाइन्सको साख जोगाउँछौं, यसलाई माथि उठाउँछौं । यस्तो अवस्था बन्नेछ, कुनै दिन ‘वाह नेपाल एयरलाइन्स’ भन्ने हुनेछ । यसका निम्ति सम्बन्धित पदाधिकारीसँग बसेर हामी छलफल गर्नेछौं । निजी क्षेत्रसँग हामी हरदम हातेमालो गर्नेछौं ।’

मन्त्री भट्टराईले  सिंहदरबारभित्र आइस्योस, गइस्योस भन्ने चलन रहेको बताउँदै  अब मन्त्रालयमा त्यो हुनु हुँदैन  भने ।  उनले भने, ‘आउनुस, जानुसमात्र चलाउने हो । कुनै पनि विजनेस हाउस, व्यवसायिक मित्रले विज्ञापनका माध्यमबाट मलाई बधाई नदिनुहोला । फेसबुकमा दिनुस्, ठीक छ, तर विज्ञापन गरेर बधाई नदिनुहोला, किनकी मलाई बधाईले थिच्ने वातावरण नबनोस् । म यही अपेक्षा गर्छु ।’

देश बनाउने कुरा तथा विकासका निम्ति सञ्चार जगतको उल्लेखनिय भूमिका हुने बताउँदै मन्त्री भट्टराईले आफू सदैव मिडियाकसँग नजिक र निगरानीमा हुने बताए । सबैको हातेमालोबाट मात्र देश विकासको गतिमा अघि बढ्ने उनको विचार थियो ।

वक्तव्यमा उनले मन्त्री पदमा नियुक्तिका लागि सहयोग तथा सल्लाह दिने सबैप्रति आभार व्यक्त गर्दै आफूलाई निर्वाचित गर्ने ताप्लेजुङका मतदाताप्रति सम्मान व्यक्त गरेका थिए ।