रमा लुइँटेल
ललितपुर । ललितपुर महानगरपालिकाले साइकलयात्रुको सुरक्षा र सहजका लागि कानुन निर्माण गर्ने भएको छ । स्थानीय तहले कानुन बनाउन पाउने अधिकार प्रयोग गरी महानगरले ऐन बनाउन लागेको हो । महानगरले नेपाल साइकल सोसाइटीलाई कानुनको प्रारम्भिक खाका बनाउन जिम्मा दिएको छ ।
महानगरका प्रमुख चिरीबाबु महर्जनले कानुन बनाउँदा ललितपुरलाई साइकल सिटी बनाउन सजिलो हुने बताए । यसले साइकल यात्रुलाई प्रोत्साहित गर्ने उनको भनाइ छ । सोसाइटीले तयार पारेको प्रारम्भिक खाकालाई महानगरको विधायेक समितिले कानुनको ढाँचा दिनेछ । नगरसभाले अनुमोदन गरेपछि उक्त कानून कार्यान्वयनमा आउने छ ।
सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले साइकलयात्रुको सुरक्षामा कानुन केन्द्रित हुने बताए । उनले साइकल प्रयोग गर्न प्रेरित गर्ने विषयलाई कानुनको मस्यौदामा राख्ने समेत बताए । उनले भने, ‘नेपालमा साइकलयात्रु प्राथमिकतामा छैनन् उनीहरूलाई महŒव दिइँदैन, यस्तो अवस्थामा बन्न लागेको कानुनले साइकल यात्रा सुरक्षित र सहज बनाउन मद्दत पुग्नेछ ।’ मस्यौदामा साइकलयात्री दुर्घटना पर्दा पाउने क्षतिपूर्ति, सडकमा साइकलमा चढ्नेलाई अन्य सवारी साधन चढ्नेले गर्ने व्यवहार, त्यस वापत उसले तिर्नुपर्ने जरिवाना, सडकमा साइकल चलाउँदा साइकलयात्रुले पालना गर्नुपर्ने नियमहरू उल्लेख गरिने बताइएको छ । त्यसैगरी साइकल चढ्न प्रोत्साहित गर्ने उद्देश्यले सरकारी निकाय माकार्यरत कर्मचारी, राजनीतिज्ञ, नेताले कम्तीमा साताको एक दिन साइकल चढ्नुपर्ने कुरा समेत उल्लेख गरिने बताए । सोसाइटीका अध्यक्ष श्रेष्ठले भने, ‘विद्यालयदेखि नै साइकल चढ्न प्रेरित गर्न सके ललितपुरलाई छिट्टै साइकल सिटी बनाउन सकिन्छ ।’
महानगरले पहिलो चरणमा कुपण्डोलदेखि लगनखेलसम्म साइकल लेन बनाउन लागेको हो । साइकल लेनका लागि महानगरले आर्थिक वर्ष २०७५÷२०७६ मा ५० लाख रुपैयाँ छुट्याएको थियो । नगर प्रमुख महर्जनले ललितपुरलाई साइकल सिटी बनाउन लेनको योजना अघि बढाएको बताए । उनकाअनुसार आर्थिक वर्ष २०७६÷७७ मा पनि महानगरले बजेट विनियोजन गरेको छ ।
साइकल प्रयोगकर्तालाई प्रोत्साहित गर्न लेन बनाउन लागिएको नगर प्रमुख महर्जनले बताए । महानगरको पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट चारवटा साइकल लेन बनाउने योजना छ । ललितपुर महानगर पहिलो साइकल मैत्री सहर हुने नेपाल साइकल सोसाइटीले जनाएको छ ।



















