प्रधानमन्त्री ओलीले चित्रबहादुर केसीसँग भने – भ्रष्टाचार बढेको होइन, गिरफ्तारी बढेको

 काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन् ।

 राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

 प्रधानमन्त्री ओलीले अहिले भ्रष्टाचारीहरु धमाधम पक्राउ परिरहेको बताए । “सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ ” प्रधानमन्त्री ओलीले भने “अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो । भ्रष्टाचारमा संलग्नलाई सानो ठुलो भनेर हेरिदैन । सबैलाई कारबाही हुन्छ । ”

 प्रधानमन्त्री ओलीले सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताए । विभिन्न ठाउँमा अतिक्रमण भएका र भू– माफियाले कब्जा गरेका सरकारी जग्गाहरु पनि सरकारले विधि पु¥याएर फिर्ता लिने प्रधानमन्त्री ओलीको  भनाइ छ । “ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानविन थालेको हो । तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरु कराइरहेका छन् ” प्रधानमन्त्री ओलीले भने “यो भन्दा अघिका सरकारहरु के हेरेर बसेका थिए । त्यती बेला सरकारमा बसेका मान्छे नै अहिले ठुला ठुला कुरा गर्छन् । ”

  प्रतिनिधि मण्डलले बाग्लुङको गल्कोटमा इलाका प्रसाशन कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओली समक्ष माग  गर्दै एक ज्ञापन पत्र पनि बुझाएको छ । ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री ओलीले जनतालाई सहज रुपमा सेवा दिने  आफ्नो नीति  भएकोले इलाका प्रशासन कार्यलय स्थापना गर्न आफू सकारात्मक रहेको बताए ।