मनोवैज्ञानिक त्रासमा शेयर बजार

काठमाडौं । निरन्तर घट्दो क्रममा रहेको शेयर बजार सरकार तथा लगानीकर्ताका लागि चिन्ताको विषय बनेको छ । सरकार तथा नियामक निकायले शेयर बजारमा नीतिगत सुधार गर्दा पनि उत्साह देखिएको छैन । मौद्रिक नीतिपछि शेयर बजार उकालो लाग्ने अपेक्षा गरिए पनि यथावत नै देखिएको छ । साताको पहिलो दिन आइतबार त झन् शेयर दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको हो । नेप्से १७.११ अकंले घटेर १२५२.८० अंकमा खुम्चिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ३.४३ अंकले घटेर २७०.०४ अंकमा खुम्चिएको छ । नेप्सेका अनुसार कारोबार रकम पनि तुलनात्मक रूपमा घटेको छ । कुल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा खरिद बिक्री भएका थिए । आइतबार दोहोरो अंकले ओरालो लागेको शेयर बजारमा सोमबार भने सामान्य सुधार देखिएको छ । नेप्सेका अनुसार सोमबार नेप्से ३.१८ अंकले बढेर १२५५.९८ अंकमा पुगेको छ । कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । सोमबार कुल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर ३५ करोड आठ लाख १२ हजार ५७२ मूल्यमा खरिद बिक्री भए । 

नीतिगत र प्रक्रियागत व्यापक सुधारका बाबजुद पनि शेयर बजार बढ्न नसकेकोमा स्वयं शेयर लगानीकर्ता नै आश्चर्यचकित बनेका छन् । शेयर बजारको प्रवद्र्धनका लागि सरकार, लगानीकर्ता, नेपाल राष्ट्र बंैक, धितोपत्र बोर्ड लगायतको संयुक्त कार्यदलले सरकारलाई ५८ बुँदे सुझाव दिएको थियो । कार्यदलले शेयर बजारको प्रवद्र्धनका लागि गरिनुपर्ने तात्कालीन र दीर्घकालीन सुझाव दिएको हो । अर्थ मन्त्रायल, नेपाल राष्ट्र बैंक तथा नियमनकारी निकायले अधिकांश सुझाव कार्यान्वयनमा ल्याइसकेको र कतिपय कार्यान्वयन प्रक्रियामा रहेको इन्भेटर्स फोरमका महासचिव राजन लम्साल बताउँछन् । 

उनले हिमालय टाइम्ससँग भने, ‘शेयर बजारका समस्यालाई चालू आर्थिक वर्षको बजेटले सम्बोधन गरेको छ, कार्यदलको सुझावलाई नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अगाडि नै सम्बोधन गरिसकेको थियो, नेपालको शेयर बजारमा यति धेरै नीतिगत सुधार यसअघि कहिल्यै भएको थिएन तर पनि शेयर बजारमा सुधार आउन नसक्नु आश्चर्यजक रहेको छ ।’ तथापि उनले तत्कालीन अवस्थामा समस्या देखिए पनि क्रमिकरूपमा शेयर बजार सुधार हुँदै जाने बताए । शेयर बजारसम्बन्धी नीतिगत सुधारले दीर्घकालीन रूपमा शेयर बजारका लागि महŒवपूर्ण आधार तय गरेकोले आगामी दिनमा शेयर बजारले फड्को मार्ने उनको भनाइ छ । एकातिर नीतिगत सुधार र अर्कोतिर बैंक तथा वित्तीय संस्थाहरूको आकर्षक चौमासिक प्रतिवेदनले लगानीकर्ता शेयर बजारमा आकर्षित हुनुपर्नेमा त्यस्तो हुन नसकेको उनले बताए । उनले भने, ‘अहिले शेयरमा लगानी गर्दा घाटा छैन, यो लगानीका लागि उपयुक्त समय हो तर लगानीकर्तामा विगतको मनोवैज्ञानिक त्रास बाँकी रहेजस्तो छ ।’ 

उनका अनुसार अर्थमन्त्री भएलगत्तै डा. युवराज खतिवडाले शेयर बजारका बारेमा नकारात्मक टिप्पणी गरेका थिए, उनको नकारात्मक टिप्पणीले पनि शेयर बजारमा नकारात्मक असर परेको हो । अर्थमन्त्री खतिवडाले शेयर बजारमा जोखिम रहेको भन्दै सचेत भएर लगानी गर्न आग्रह गरेका थिए । उनले भनेका थिए, ‘धेरै नाफा लिन खोज्नेहरू जोखिम लिन पनि तयार हुनुपर्छ, यदि जोखिम लिन सक्नुहुन्न भने कम जोखिम हुने अन्य इन्स्ट्रुमेन्ट तपाईंले छान्न सक्नुहुन्छ ।’ उनी यत्तिमै अडिएनन् र भने– ‘साथी रिटायर्ड भएपछि सञ्चय कोषबाट निकालेको सबै रकम शेयरमा लगानी ग¥यो, मसँग पछि आफू डुबेको गुनासो ग¥यो तर मैले बैंकमा निक्षेपका रूपमा जम्मा गरेँ, कमै भए पनि ब्याजको लाभ लिएँ ।’

शेयर बजारमा धेरै नाफा हुनसक्ने, जोखिम पनि त्यहीअनुसार रहेको भन्दै उनले भने, ‘घाटा भएमा सरकारलाई धारेहात नलगाउनुहोस् र नाफा भए पनि सरकारलाई दिनुपर्दैन ।’ त्यसो त नयाँ लगानीकर्ताका लागि शेयर बजारप्रतिको उनको टिप्पणी सकारात्मक भए पनि नकारात्मक रूपमा प्रचारबाजी गरिएको थियो । जे होस्, आलोचनापछि अर्थमन्त्री खतिवडा शेयर बजारपछि नरम बन्दै गएका थिए । जसका कारण उनले आर्थिक वर्ष ०७६÷७७ को बजेट अगाडि नै शेयर बजारमा सुधारका लागि लगानीकर्तालाई समेत समावेश गरी कार्यदल नै गठन गरेका थिए ।

बजेटमा उनले कार्यदलको सुझाव सम्बोधन गरेका छन् । सोही कारण लगानीकर्ताले बजेटको स्वागत गरेका छन् । डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि शेयर बजारमा प्रभावित भएको थियो । उनले शेयर बजारलाई जुवा घर हो भनेर दिएको अभिव्यक्ति आलोचित बन्न पुगेको थियो । चर्को आलोचनापछि उनी शेयर बजारप्रति नरम त भए तर लगानीकर्तामा उनीप्रति नकारात्मक सोचले डेरा जमाइरहृयो ।