साँखु मालपोत कार्यालय आधुनिक तथा सुबिधा सम्पन्न घोषणा

काठमाडौं । मालपोत कार्यालय साँखुलाई आधुनिक तथा सुबिधासम्पन्न कार्यालय घोषणा गरिएको छ ।

सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले एक कार्यक्रमकाबीच साँखु मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा गरेकी हुन् ।

कार्यालयलाई नमुना तथा आधुनिक घोषणा गर्दै मन्त्री अर्यालले मन्त्री, सचिव र विभागको निर्देशनमा काम गर्न कर्मचारीलाई निर्देशन दिइन् । अहिले मन्त्रालय समग्र भूमि प्रशासनलाई व्यवस्थित गर्न लागिरहेको भन्दै त्यो स्पिडमा कर्मचारी तथा समग्र सेवाग्राहीले साथ दिनुपर्ने आग्रह गरिन् ।

उनले भनिन्, ‘कर्मचारीहरू मन्त्री, सचिव, विभागको स्पिडमा हिड्नुस् । कार्यालय र सेवालाई नमुना बनाउन तपाई कार्यालय प्रमुख र कर्मचारीहरु प्रतिस्पर्धात्मक तरिकाले लाग्नुसु, मन्त्री अर्यालले भनिन् ।

त्यस अवसरमा मन्त्री अर्यालले नमुना कार्यालयको रूपमा विकास गरिएको मालपोत कार्यालय साँखु र आधुनिकीकरण गरिएको नापी कार्यालय साँखुको अनुगमन निरिक्षण समेत गरेकी थिइन् । त्यस अवसरमा कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले मन्त्रालयले थालेको सिस्टमलाई फेल गर्नेगरी जान कुनैपनि कर्मचारीलाई छुट नभएको उनले बताइन् ।

भूमि मन्त्रालय अन्तर्गत सुशासनको विषयलाई लिएर केही समस्या रहेको भन्दै मन्त्री अर्यालले सरकारले चालेको शुद्धताको अभियानलाई सबैले सहयोग गर्न समेत उनले आग्रह गरिन् । सरकारले शुद्धताको अभियान सञ्चालन गरिरहेको छ । यसमा तपाई सेवाग्राही, कर्मचारी सबैले साथ दिनुस । हिजो जे भयो अब सुधार गर्नेगरी जाऊँ, मन्त्री अर्यालले भनिन् ।

मन्त्री अर्यालले सधैं कर्मचारीलाई मात्र दोष दिएर अरू निकाय पञ्छिन नमिल्ने समेत बताइन । कर्मचारीमा समस्या छन् । हामीले पहिचान गरेका छौं ।  तर केही समस्या सेवाग्राहीमा पनि छन्ु, उनले भनिन्, मन्त्रालय स्पिडका साथ सुशासन कायम गर्न लागेको छ । नखाने मान्छेलाई तर्साउने र निरुत्साहित बनाउने काम पनि भएको छ । यो पनि राम्रो नभएको उनको भनाइ थिया े।

मन्त्रालय अहिले भूमि प्रशासन अन्तर्गतका कार्यालयहरूको श्रेस्ता स्क्यानिङको काम गरिरहेको भन्दै मन्त्री अर्यालले व्यवस्थित गरेर स्थानीय तहमा सिस्टम पठाइदिऊ भन्नेतिर मन्त्रालय लागेको बताइन् ।