काठमाडौं । आकाशे पानी व्यवस्थापन गर्न स्र्माट वास सोलुसन र महानगरको सहकार्यमा दुई दिने सम्मेलन सम्पन्न भएको छ । शनिबार र आइतबार काठमाडौंमा आयोजित सम्मेलनमा आकाशे पानी व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।
खानेपानी मन्त्री विना मगरले कार्यक्रम समापन गर्दै प्राकृतिले दिएको स्रोतलाई सही प्रयोग गर्न नसकेका कारण समस्या आएको बताइन् । पानी अभाव भइरहेको समयमा स्मार्ट वास सोलुसन र माहानगरले ल्याउन लागेको योजना सकारात्मक भएको पनि उनले बताइन् ।
उनका अनुसार पानी परेको समयमा संकलित पानी पिउनयोग्य बनाउन सकेमा पानीको अभावमा भौतारिनु पर्दैन । स्मार्ट वास सोलुसनका अध्यक्ष राम दिप शाहले स्मार्ट वास सोलुसनको योजनालाई महानगरबाट सुरु गर्दै ग्रामीण क्षेत्रसम्म लैजाने योजना रहेको बताए ।
महानगरका १० वटै नगरमा कार्यान्वयन गर्दै वर्षाको पानीलाई पिउनयोग्य बनाई पानीको समस्यालाई हटाउन सकिने उनको भनाइ थियो । काठमाडौं महानगरपालिकाका उपमेर हरिप्रभा खड्गीले वर्षाको पानी खेर गइरहेकाले वर्षातको पानी संकलनका लागिागि नगर तथा ग्रामीण क्षेत्रमा जनचेतना फैलाउनुपर्ने बताइन् । जमिनमुनिको पानीभन्दा आकाशे पानी सफा हुने भएकोले आकासको पानीलाई कसरी व्यवस्थापन गर्ने र कस्ता सामग्री प्रयोग गर्ने भन्ने बारेमा जानकारी गराउनुपर्ने उनको भनाइ थियो ।
उनले आधुनिक प्रविधिमार्फत आकाशेपानीको व्यवस्थापनमा जोड दिइन् । सम्मेलनमा नेपालका साथै कोरिया, श्रीलंका र बंगलादेशका विज्ञहरूको सहभागिता थियो ।



















