बुढेसकालमा उपचारको फसाद

काठमाडौं । ‘छोराले नै यो दुख्यो, त्यो दुख्यो भनेर कचकच नगर्नुस् न आमा भन्छ, बुढेसकालमा यस्तै हो, डराउनु पर्दैन, उमेर ढल्दै गएपछि जसलाई पनि यस्तै हुन्छ भन्छ,’ ७१ वर्षीया एक वृद्धाले अस्पतालमा गुनासो गरिन् ।  

वीर अस्पतालमा भेटिएकी उनले आफ्नो पहिचान भने गोप्य राख्न आग्रह गरिन् । राम्रो नराम्रो जेजस्तो भने पनि सन्तानको माया कहिल्यै कमी नहुने र आफ्नो सन्तानलाई कुनै पनि तरिकाले दुःख भएको हेर्न नचाहेको उनले बताइन् । अस्पतालको पालो कुरिरहेकी उनले लौरो समात्दै भनिन्, ‘उमेर ढल्किँदै गएपछि आफ्नाहरु पनि बैरी हुँदा रैछन्, भने अरुको के आश गर्नु ¤ आफ्नो स्वास्थ्यको ख्याल आफंै राख्नुपर्दाे रहेछ ।’

सामाजिक सुरक्षा भत्ताबाट आएको केही रकम लिएर नातिको साहारामा स्वास्थ्य जाँचका लागि उनी अस्पताल आएकी थिइन् । उनको जोर्नीहरू दुख्ने, पैताला झमझमाउने र हिड्दा खुट्टा सबैभन्दा धेरै दुख्छ ।

यस्तै ७४ वर्षीय अर्का वृद्ध पनि वीरमै उपचारका लागि पालो कुरिरहेका थिए । छोरीको सहयोग मागेर अस्पताल आएका उनका छोराहरूले पनि आफू बिरामी भएको कुरा सुन्नै नचाहेको बताए । उनले भने, ‘बुढो हड्डी हो खिइदै गएपछि सामान्य दुखिहाल्छ नि बुवा भन्छ ।’ उनलाई पनि धेरै वर्षदेखि ढाड दुख्ने समस्याले सताउँदै आएको छ । उनलाई पनि उनका छोराले केहि दुख्यो भन्यो कि गालीगलौज गर्दै  हप्काउने गर्छ । 

धेरै पहिलेदेखि वृद्धवृद्धा स्वास्थ्यलाई विशेष हेरचाह राख्नुपर्ने सुझाव चिकित्सकहरूले दिँदै आइरहेका छन् । अधिकांश सन्तानले कुनै न कुनै कुराले उनीहरूको रोगलाई सामान्य रुपमा लिने गर्छन् । कतिपयले  वृद्धवृद्धालाई लाग्ने रोग प्राकृतिक नै भनी उपचारमा बेवास्ता गर्ने चिकित्सकहरूको भनाइ छ । यसो गर्दा उनीहरुको स्वास्थ्यमा झनै गम्भीर असर पर्न सक्ने चिकित्सकहरू सुझाव दिन्छन् । 

वृद्धवृद्धाको स्वास्थ्य कमजोर हुने भएकाले सामान्य रुघाखोकी लाग्दा समेत उनीहरूको स्वास्थ्यले सम्हाल्नै मुस्किल पर्ने नर्स गगन सिलवालले बताइन् । वृद्धवृद्धाहरू सामान्य ज्वरो आउँदासमेत बढी दुखे जस्तो महसुस गरेर आत्तिने बताइन् । यसमा माया र स्नेहले उनीहरुको दुखाइलाई परिवारका सदस्यले कम गर्नसक्ने उनको भनाइ छ ।  उनले वृद्धवृद्धा उमेरमा सरसफाइमा ध्यान पु¥याउन नसक्दा पनि सामान्य रोगले पनि च्याप्ने गरेको बताइन् । 

वृद्धवृद्धा उमेरमा बढीभन्दा बढी दम, उच्च रक्तचाप, निमोनिया, झाडापखाला, पाचन नली कमजोर (कब्जियत) सुगरलगायत रोगले चाँडै  समस्या पार्ने चिकित्सकहरूको भनाइ छ । वृद्धवृद्धालाई दीर्घकालिन रोगले कहिल्यै नछोड्ने भएकाले पनि उनीहरूको लागि हरेक समयमा सेवा दिन जरुरी रहेको चिकित्सकहरू सुझाव दिन्छन् । 

वृद्धवृद्धा यतिकै पनि सधैँ अस्वस्थ अवस्थामै रहने भएकाले पनि उनीहरूका लागि आफ्ना परिवारको सदैव साथ हुनु अत्यन्तै आवश्यक छ ।