राजधानीमा फेरि फोहोर

काठमाडौं (रासस) । वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहोर उठ्न सकेको छैन । वाग्मती सफाइ महाअभियानको ३२४ औं हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहर उठाए पनि तीन मेट्रिक टन फोहर मात्र व्यवस्थापन भएको अभियानकर्मी माला खरेलले बताइन् । 

फोहर उठ्न नसकेपछि फेरि उपत्यकाका चोक चोकमा फोहर थुप्री प्रदुषण फैलन थालेको छ । सफाइमा २० संस्थाका ६०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । तीन वटै सुरक्षा निकायको समेत सक्रियता रहेको थियो । सो अवसरमा समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले सफाइ अभियानलाई अझ रचनात्मक रूपमा अघि बढाइनुपर्नेमा जोड दिएका थिए । 

रुद्रमती सफाइ अभियानको २७८औं हप्तामा रुद्रपनेकु झोलुंगे पुलबाट सेतोपुल हुँदै फर्किएर रातोपुलसम्मको दायाँबायाँ किनारमा सफाइ गरियो । सफाइका क्रममा नदी किनारमा जम्मा भएको दुई क्विन्टल फोहोर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताए ।

सफाइमा काठमाडौं महानगरपालिका– ३० का अध्यक्ष दलबहादुर कार्की लगायत स्थानीयवासीको सहभागिता थियो । वाग्मती सुन्दरीघाट सफाइको १३३ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चित्र सुनुवारले जानकारी दिए । सफाइमा १ सय जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । 

आलोकनगर सफाइको १२१ औं हप्तामा काठमाडौं महानगरपालिका वडा नं. ३१ स्थित आलोकनगर मन्दिरबाट बानेश्वरका विभिन्न क्षेत्रमा सफाइ गरी बुद्धनगरस्थित युएन पार्क क्षेत्रको वाग्मती सफाइ महाअभियान पुगेको जनाइएको छ । 

चक्रपथ सफाइ अभियान २०७१ को आयोजनामा गंगाहलबाट बालाजुचोकसम्म १०२औं हप्ताको सफाइ गरियो । यस क्षेत्रको चक्रपथमा धेरै फोहर जम्मा भएको भेटिएको सफाइ संयोजक ताराबहादुर कुँवरले बताए । करिब २ सयजना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट पाँच टन फोहोर व्यवस्थापन गरियो । सफाइमा सांसद रामवीर मानन्धर पनि सहभागी भएका थिए ।

मनोहरा सफाइको १२३ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरियो । स्थानीय संस्थासहित टोलवासीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दंगालले जानकारी दिए । 

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानपछि उपत्यका लगायत देशभर सफाइ जागरण फैलिएको छ । हाल देशभरका १०५ भन्दा बढी स्थानमा सफाइ भइरहेको अभियानकर्मीले जनाएका छन् ।