नेपालको टी–२० विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौं । नेपालको आइसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको छनोट यात्रा टुंगिएको छ । १२ साउनको विहान सिंगापुरमा भएको खेलमा छ विकेटको क्षतिमा सिंगापुरले एक सय ९२ रनको कठिन लक्ष्य दिएपछि नेपालका शुरुवाती ब्याट्सम्यानहरु धमाधम टिक्न सकेनन् ।

१५ ओभरमा सबै विकेट गुमाएर नेपाल १०९ रनमा सिमित भयो । नेपाल सिंगापुरसँग ८२ रनले पराजित भयो । बलरहरु जम्न नसक्दा नेपाल हार्न पुग्यो ।

हारसँगै नेपालको टी–ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना सकिएको छ । यो हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको हो ।

जितसँग सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको थियो ।

त्यसपछि नेपालको इनिङ्स धरासायी बनेको थियो । पारस र ज्ञानेन्द्रपछि नेपालका दिपेन्द्र सिंह ऐरीले २३ तथा सोमपाल कामीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न सिंगापुरका सिलाडोरे विजयकुमारले २५ रन खर्चेर ४ विकेट लिए । यस्तै भिनोद भास्करणले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । खराब सुरुवात गरेपनि रोहन रंगराजन र टिम डाभिडले सिंगापुरको इनिङ्स उकासेका थिए । 

सिंगापुरको उच्च स्कोरमा टिमले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोहनले ४९ रन जोड्दा मनप्रित सिंहले ४२ रन बनाएका थिए । 

नेपालका अविनास बोहराले ४ विकेट लिए । करण केसीले २ विकेट लिए । नेपालका बसन्त रेग्मी महंगा साबित भए । उनले ४ ओभरमा ५४ रन खर्चेर विकेट लिन सकेनन् । यस्तै सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन खर्चिए ।

सिंगापुरसँगको हारसँगै नेपालले दोस्रो स्थानमा रहेर प्रतियोगिता सकाएको छ । ४ खेलमा २ हार व्यहोरेको नेपालले ७ अंक जोड्यो । नेपाल यसअघि पहिलो खेलमा कतारसँग पराजित भएको थियो ।

सिंगापुर भने अपराजित रह्यो । ४ खेलमा ३ जित निकालेको सिंगापुरले ७ अंक जोड्यो । सिंगापुरले बर्षाको कारण एक खेलमा अंक बाडेको थियो ।

अब सिंगापुरले युएईमा आयोजना ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म । युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगिसकेको छ ।