६२ हलमा एकलब्य

काठमाडौं । शुक्रबारबाट नेपाली चलचित्र ‘एकलब्य’ प्रदर्शनमा आएको छ । मुलुकका जम्मा ६२ हलहरूबाट एकसाथ प्रदर्शनमा आएको चलचित्र निर्माण टिमले जानकारी दिएको छ । 

एक्शन प्रधान यो चलचित्र अनमोल शर्माले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता एवं अभिनेता सोनाम थापा मगरका अनुसार फिल्मले सिँगलसँगै केही मल्टिप्लेक्स हलमा पनि पाएको छ । एकलब्यमा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, सुशील पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय छ । 

दर्जनभन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । पुरानो अनुभवको आधारमा आफूले राम्रो चलचित्र बनाउने कोसिस गरेको पनि शर्माले बताए । निर्देशक शर्माका अनुसार ‘एकलव्य’ समसामयिक विषयमा निर्माण गरिको सामाजिक प्रेम कथामा आधारित छ । ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रष्टाचारजस्ता अहिलेका विविध समस्यालाई प्रस्तुत गरिएको छ । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । यो चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीतसंगीत, भोजराज देवकोटाको पटकथा सम्वाद छ ।

यस्तै आजैबाट भारतीय चलचित्र ‘जज्मेन्टर हे क्या’ र हलिउडको ‘एसटर्डे’ पनि प्रदर्शनमा आएका छन् । नेपाली मल्टिप्लेक्सहलमा बलिउडको ‘जज्मेन्टर हे क्या’ले ठाउँ जमाउने देखिन्छ । किनकि ‘एकलब्य’लाई मल्टिप्लेक्सले खासै शो दिएका छैनन् । चलचित्र हल ‘क्युएफएक्स चेन’ले भने ‘एकलब्य’लाई शो दिएको छैन ।

बलिउडको ‘जजमेन्टर हे क्या’मा कंगना रनावत र राजकुमार रावको मुख्य भूमिका छ । कनिका धिल्लोनले लेखेको यो चलचित्र प्रकाश कोभेलामुदिले निर्देशन गरेका हुन् । यस्तै हलिउडको ‘एसटर्डे’मा हिमेस पटेल, लीली जेम्सको मुख्य भूमिका छ । रिचार्ड कुर्तिसले लेखेको यो चलचित्र डेन्नी बोलीले निर्देशन गरेका हुन् ।

यस साताको चलचित्र प्रदर्शनको सूची हेर्दा नेपाली चलचित्र ‘एकलब्य’लाई राम्रै फाइदा पुग्ने देखिन्छ । चलचित्रको मुख्य भूमिकामा चलेका अनुहार नहुँदा चलचित्रलाई असर पर्ने गर्छ तर यो साता सिंगल थिएटरमा ‘एकलब्य’ले ठूलो संख्यामा शो पाउँदा केही मात्रामा फाइदा पुग्ने देखिन्छ ।