आफूले आफैंलाई चिनौं

मोहको क्षय हुनु भनेको मोक्ष हो । विषयप्रति राग घटेर, हटेर ईश्वरप्रति अनुराग बढ्नु मोक्षको संकेत हो । ईश्वर सर्जक हो, विज्ञान चाहिँ विसर्जक मात्र पनि हुनसक्छ । सर्जकप्रतिको धन्यवाद भनेको भक्तिको प्रक्रिया सुरु हुनु हो । मोक्ष धामका बारेमा सबैमा जिज्ञासा हुन्छ ।

मोक्ष अथवा स्वर्ग भनेको कुनै स्थान, समय र परिवेश विशेष चाहिँ होइन । स्वर्ग भन्नु भाव विशेष हो । धर्मको निवासलाई स्वर्ग भनिन्छ । मोक्ष धाम भनेको त्यही हो । मोक्ष धाम त्यो धाम हो जहाँ, ज्ञान, दैवी सम्पदा, सदाचार हुन्छ, भ्रष्टाचार हुँदैन । हिजोआज जताततै वासना ज्यादा देखिन्छ, वासनाको त्यागमा स्वर्ग बसेको हुन्छ । त्याग भनेको विषयवस्तुको अभावमा त्याग हुनु होइन । सम्पत्ति र सुखको अभावमा सबैले त्याग गर्न सक्छन् तर वरिपरि विषयको सुखानुभूतिमा त्याग हुनुको अर्थ त्याग हो । लक्ष्मी, सम्पत्ति, ज्ञान, शक्ति, पद, सत्ता सबै कुरा साथमा हुँदा पनि तीप्रति मोह नहुनु चाहिँ त्याग हो । 

मनले, वचनले, कर्मले, जसले अरूको निन्दा गर्दैन त्यो स्थल, क्षेत्र, त्यो वातावरण, त्यो गाउँ, सहर, समुदाय, टोल वास्तवमा मोक्ष धाम हुन् । शिवपुरी क्षेत्र, शिवक्षेत्र, पशुपति क्षेत्र, अयोध्या क्षेत्र, वृन्दावन क्षेत्र यी मोक्ष धाम हुन् किनभने यहाँ त्याग गर्ने महापुरुषहरू, सिद्धपुरुषहरू, योगी जनहरू सेवक हुन् । शिव त्यागी छन् । राम त्यागी छन् । कृष्ण त्यागी हुन् । बुद्ध त्यागी भएकाले लुम्बिनी क्षेत्र मोक्ष धाम हो । बुद्धले कसैको निन्दा गरेनन् । 

जहाँ नित्य उपासना गरिन्छ, दीक्षामन्त्र पढिन्छ, वेदका ऋचाहरू घन्कन्छन् । गाईको सेवा हुन्छ, तुलसी, गीता, सज्जन, भक्त, सत्पात्र, सच्चरित्र व्यक्ति जहाँ रहन्छन् त्यो क्षेत्र दिव्य, मोक्ष, धाम क्षेत्र हुन्छ । देवी वन्दना जहाँ हुन्छ, त्यो क्षेत्र मोक्ष क्षेत्र हुन्छ । पावनी गंगा धारा बगेको स्थान, महात्माहरूको वासस्थान मोक्ष धाम हो । जहाँ मदिरा पान हुँदैन, क्रयविक्रम हुँदैन, मांस भक्षण हुँदैन, जीव हत्या हुँदैन, त्यो क्षेत्र मुक्ति क्षेत्र हो, मोक्ष धाम हो । सत्पुरुषहरूसँग वार्ता जहाँ हुन्छ, संगीतका धुनहरू, भजन, गायन, नृत्य क्षेत्र, पवित्र क्षेत्र त्यो ठाउँ मोक्ष धाम हो । 

भगवत नामसञ्जीवनी जहाँ हुन्छ, तीर्थ स्नान जहाँ हुन्छ, ती मोक्ष धामहरू हुन् । पाप नहुनु भनेको प्रदूषण नहुनु हो । जल प्रदूषण, ध्वनि प्रदूषण, वायु प्रदूषणले रोग सिर्जना गर्दछन् । रोग र राग एकै विषय हुन् । रागपछि रोग र रोगपछि राग आउने गर्छन् । मन, वचन र कर्मले जहाँ प्रदूषण हुँदैन त्यो क्षेत्र पापरहित क्षेत्र हो र धर्म क्षेत्र हो । तप गरेर मोक्ष प्राप्ति हुन्छ तर तप भनेको के हो ? शरीर सुकाएर तप हुने होइन, भोजन त्याग गरेर तप हुने होइन, पञ्चाग्नि तापेर तप हुने होइन, जलाहारी वा फलाहारी भएरमात्र तपस्वी हुने होइन ।

हृदयमा श्रद्धा, मनमा विश्वास हुनुको नाम तप हो । पतन हुनुबाट बच्नुको नाम तप हो । तपस्वी हुने भनेको मोक्ष प्राप्त गर्नु हो । शिव र शक्ति साथमा लिनेले तप गरेको ठहर्छ । शिव र शक्ति दुई विश्वास र श्रद्धा हो । ईश्वरप्रति भजन गर्नेले, प्रेम गर्नेले, भक्ति गर्नेले, हृदयदेखि ईश्वर प्राप्त गर्न प्रयास गर्नेले ईश्वर सर्वत्र देख्न सक्छ । ईश्वर विशालमा ब्रहृमाण्डमय छन् भने शुद्धतामा चित्तस्वरूप आत्ममय छन् । निराकार उनको स्वभाव हो भने विशाल आकार उनको साकार ब्रहृमाण्डस्वरूप हो । 

निस्काम भावमा तप हुन्छ, निस्काम भावमा मोक्ष हुन्छ । धर्तीलाई स्वर्ग बनाउन सकिन्छ । धर्ती स्वर्ग हुनसक्ने हुँदा देवलोक, दीप्तलोक भावले देवताहरू धर्तीमा आधारित भएका हुन्छन् । महापुरुषहरू, दिव्यपुरुषहरू स्वर्गबाट धर्तीमा अवतरित भएका छन् । धर्तीलाई स्वर्ग बनाउने विभिन्न अवस्था छन् । यिनलाई स्वर्गका ढोकाहरू भनिन्छ । मोक्षका द्वारहरू हुन् यिनीहरू । 

मूल रूपमा यश, दान, अध्ययन, अध्यापन, तप, शास्त्रज्ञान, पराक्रम, बुद्धिको समुचित प्रयोग, कृतज्ञता, धेरै नबोल्नु, सरल हुनु, कोमल हुनु, इन्द्रिय निग्रह हुनु, निर्लोभी हुनु अरूको धन सम्पत्तिमा तुच्छ दृष्टिपात नगर्नु वास्तवमा धर्तीलाई स्वर्ग बनाउने आधार स्तम्भ हुन् । जहाँ धर्मको चिन्तन हुँदैन, त्यो धार्मिकस्थल हुन सक्दैन, धार्मिक सभा हुन सक्दैन । त्यो दिव्यधाम हुँदैन, त्यो दिव्य क्षेत्र हुँदैन, मोक्ष क्षेत्र पनि हुनसक्दैैन । 

कुटुम्बमा बैर छ, परिवारमा द्वेष छ, सर्वत्र दोषदृष्टि छ भने उसलाई तपस्वी भन्न मिल्दैन । मानिस ध्यान र व्रतमा संलग्न भएरमात्र व्यक्ति तपस्वी बन्ने होइन । माला लगाएर पनि होइन, गेरु बस्त्र लगाएरमात्र पनि होइन । समाजमा, राष्ट्रमा बैर छ भने व्यक्ति तपस्वी भन्न मिल्दैन । मोक्षधाम समक्ष पु¥याउने आत्मा साँच्चै साथी हो, मित्र हो । ‘आत्मैव हृयात्मनो बन्धु’ भनिएको छ शास्त्रमा । आफ्नो आत्मा नै साँचो अर्थमा मित्र हो । आत्माप्रति विश्वास नगर्नेलाई परमात्माप्रति विश्वास हुँदैन । 

गीता अध्ययन, वेद पाठ र उच्च अनुष्ठानहरूले पनि मनलाई पवित्र पार्न कठिन हुन्छ यदि व्यक्ति आफैँलाई आफ्नो आत्मालाई आफैँले विश्वास गरेको हुँदैन भने । आत्ममा विश्वास गर्नेहरूले आत्महत्यालाई स्वीकार गर्दैनन् । सर्वोपरि मन्त्र भनेको ‘हरि ओम् तत्सत्’ नै हो । सबै मन्त्र सबैलाई सहज नहुन सक्छन् । धेरै लगानी र ठूला मन्त्रोच्चारणबाट मात्र आत्मबोध हुन्छ भन्ने पनि होइन । 

हृदयमा शंका हुनेलाई, आत्माप्रति विस्मय हुनेलाई, आत्माप्रति स्नेह र विश्वास नहुनेलाई ईश्वरप्रति स्नेह र विश्वास हुन सक्दैैन । यस्ता व्यक्तिलाई यो लोकमा सुख मिल्दैन । यो लोकमा सुख प्राप्त नगर्नेले परलोकमा सुख प्राप्त गर्छ भन्ने होइन । अर्थात् सबैथरिको पूर्वयोजना हुन्छ । 

पूर्वयोजना हुनु भनेको पूर्वअभ्यास पनि हो । भविष्यमा के कस्तो होला, मोटामोटी आकलन गर्ने हो । स्वर्गीय आनन्द लिनेले त्यसको पूर्वाभ्यास गर्नुपर्ने हुन्छ । अभ्यास नगरी सहजै कुनै कुराको प्राप्ति सम्भव छैन । ‘अभ्यासेन तु कौन्तेय वैराग्येन तु गृण्यते’ भनिएको छ गीतामा । 

आत्माको शरीर वेद हो, स्वरूप यसको मन्दिर हो । वेद स्वयं भगवान् हो । वेदको सार आत्मा हो । वेदको उपसंहार पनि आत्मा नै हो । तŒवज्ञान प्राप्त भएपछि छोड्न मन लाग्दैन । बुद्धिद्वारा यसको बोध हुन्छ । वेदबाट तŒवज्ञान प्राप्ति हुन्छ । वेद ४ किसिमका छन्, यजुर्वेद, ऋग्वेद, अथर्ववेद र सामवेद । सबै वेदहरू मानव शरीका लागि नभई नहुने विषय हुन् । तपबाट स्वर्ग मिल्छ, दानबाट भोग र सुख मिल्छ, तीर्थ स्नानबाट पाप नाश हुन्छ । ज्ञान र वैराग्यबाट मोक्ष प्राप्ति हुन्छ । भक्तिबाट ज्ञान र वैराग्य प्राप्ति हुन्छ । यो साइकलको चक्का जस्तै छ, घुमिरहन्छ । 

सबैको मूल जरो चाहिँ भक्ति नै हो, भक्ति वास्तवमा भाव हो, भक्ति सेवा हो, भक्ति सरलता हो । व्यक्तिले सरल, तरल हुन चाहनेले भक्तिको शरण, चरण ग्रहण गर्नु जरुरी छ । व्यक्तिको सरलता उसको संलग्नतामा हुन्छ । कठोर हृदयबाट व्यक्ति सरल हुन सक्छ । आत्मबोधबाट ईश्वरबोध हुन्छ । ईश्वर बोधबाट परमेश्वर बोध हुन्छ । प्रयासविना केही सम्भव छैन । घडा घोप्ट्याएर राख्दा वर्षाको पानीले भरिँदैन ।