अवैध ब्यापार,व्यवसायमा संलग्न विदेशी र सहयोगी स्थानीयमाथि कडा कारबाही गर्न निर्देशन

क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिम ले अध्यागमन तथा व्यापारिक नियम उल्लंघन गरी अवैध रूपमा व्यवसाय सञ्चालन गर्ने विदेशी नागरिक र उनीहरूलाई सहयोग गर्ने स्थानीय मलेसियालीहरूमाथि कडा कारबाही गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।

हालै सम्पन्न मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री अनवर इब्राहिमले व्यापारिक इजाजतपत्र, भिसा तथा अन्य कानुनी सुविधाको दुरुपयोग गर्नेहरूलाई कुनै पनि हालतमा छुट नदिन सम्बन्धित सरकारी निकायहरूलाई आदेश दिएका हुन्। सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री दातुक फहमी फाजिल का अनुसार, देशको कानुन मिचेर व्यवसाय सञ्चालन गर्ने जोसुकै भए पनि उनीहरूलाई कडा कानुनी दायरामा ल्याइनेछ।

साथै, पैसाको लोभमा आफ्नो नाममा रहेको व्यापारिक इजाजतपत्र विदेशी नागरिकलाई प्रयोग गर्न दिने वा भाडामा उपलब्ध गराउने मलेसियाली नागरिकहरूको अनुमति पत्र तत्काल खारेज गरी कडा कानुनी कारबाही गरिने सरकारको चेतावनी छ।

पछिल्लो समय विदेशी नागरिकहरूले स्थानीय बजार तथा व्यवसाय क्षेत्रमा अवैध रूपमा प्रभाव बढाएको जनगुनासो चर्किएपछि प्रधानमन्त्री अनवर इब्राहिमले यो कडा कदम चालेका हुन्। सरकारको यो नीतिले देशको आन्तरिक सुरक्षा, अर्थतन्त्र तथा कानुनी रूपमा व्यवसाय सञ्चालन गर्ने स्थानीय र विदेशी व्यवसायीहरूको हित संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ।