भारत := भारतको पटनामा बसोबास गर्दै आएका चर्चित शिक्षक तथा युट्युबर फैजल खानविरुद्ध प्रहरीमा एफआईआर दर्ता भएपछि उनको पक्राउ पर्ने सम्भावना बढेको छ। प्रहरीका अनुसार कदमकुआँ क्षेत्रमा रहेको उनको कोचिङ संस्थानमा भएको गोलीकाण्डसँग सम्बन्धित घटनामा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।
जुन २ मा भएको उक्त घटनामा ढुंगामुढा, तोडफोड र त्यसपछि गोली चलेको देखिएको भिडियो सार्वजनिक भएको थियो। घटनामा संलग्न रहेको आरोपमा दुई जना सुरक्षागार्ड पक्राउ परेर जेल पठाइएका छन्। अनुसन्धानका क्रममा ती सुरक्षागार्डहरूले खान सरकै निर्देशनमा गोली चलाइएको बयान दिएको दाबी प्रहरीले गरेको छ।
त्यसपछि उनीविरुद्ध हत्या प्रयास र हतियारसम्बन्धी धारामा मुद्दा दर्ता गरिएको बताइएको छ। यसअघि प्रतिस्पर्धी कोचिङ संस्थासँगको विवादका कारण आक्रमण भएको दाबी गर्दै आएका खान सर अब आफैं अनुसन्धानको दायरामा परेका छन्। प्रहरीले आवश्यक परे उनलाई सोधपुछपछि पक्राउ गर्न सकिने संकेत दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।




















