सहिद शब्दको सर्वमान्य परिभाषा गर्न सजिलो छैन । देशका लागि महान् काम गरेर बाँचिरहेका वा कालगतिले मरेकालाई सहिद भन्ने गरिएको छैन । त्यस्तामध्ये कतिका सन्ततिले यस्तो माग पनि गरिरहेका छन् । आन्दोलनको हुलमूलमा परेर मरेकालाई पनि सहिद भन्ने गरिएको छ ।
वास्तवमा आफू किन मारिँदैछु भन्ने स्पष्ट भएर कुनै निरंकूश शासकसँग माफीसमेत नमागी मर्न तयार भएका र एउटा निश्चित उद्देश्यका लागि मारिएका महान् व्यक्तिहरू मात्र सहिद हुनुपर्ने हो । यसरी मारिएका व्यक्तिहरूको सहादत वा बलिदानी र योगदानलाई समेत प्रकाशमा ल्याएर हालैमात्र सहिद स्मारिका प्रकाशित भएको छ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर यही साउन ६ गते उक्त स्मारिका प्रकाशन गरिएको हो । १०+३२२ पृष्ठको यो सहिद स्मृति ग्रन्थ सहिद स्मृति प्रतिष्ठान केन्द्रीय समितिले प्रकाशन गरेको छ । संस्थागत १ हजार र व्यक्तिगत मूल्य ५ सय रहेको यो पुस्तकको छपाइ स्तर राम्रो छ । डिएमआई साइजमा सेतो कागजको प्रयोग भएको यो पुस्तकमा भाषिक अशुद्धिहरू भने निकै भेटिन्छन् ।
यो स्मृति ग्रन्थले २६ सदस्यीय केन्द्रीय कार्य समितिको नाम दिएको छ र त्यसपछि प्रकाशकीय लेखेको छ । प्रकाशकीयपछि सम्पादकीय र ‘अध्यक्षको कलम’ दिइएको छ । यो ग्रन्थमा विभिन्न व्यक्तिका २७ वटा लेख रचना दिइएका छन् । स्मारिकाको संरक्षक सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहाल रहेका छन् भने सम्पादन समितिमा पाँचजना रहेका छन् । सम्पादन समितिको संयोजकमा बमबहादुर डिसी छन् भने सदस्यहरूमा डा. नारायण चालिसे, प्रसिस महरा, अञ्जु दाहाल र केदार गोर्खाली रहेका छन् ।
पुस्तकमा विभिन्न कार्यक्रम सन्दर्भका ४० वटा र विभिन्न सन्दर्भमा मारिएका नेपाली कांग्रेसका १५ जना सहिदहरूका तस्वीर समावेश गरिएको छ । स्मारिकामा यिनका साथै ओखलढुंगा सशस्त्र क्रान्तिलगायत अरू सन्दर्भमा मारिएका सबैको उपलब्ध भएसम्मका तस्वीर राख्न सकेको भए यो स्मृति ग्रन्थको महŒव अझै बढ्नसक्थ्यो ।
स्मारिकामा जम्मा २८ वटा लेख रचना राखिएका छन् जसमा सहिदसम्बन्धी तीनवटा कविता छन् । यस्ता कविताहरूमा अञ्जु दाहाल (विमला) को ‘पुख्र्यौली गेट ः सिंहदरबारको गेट’, आत्माराम पौडेलको ‘सहिद’ र पौडेल बिमुन्सको ‘सत्यका लागि सहिद बन्नेछु’ रहेका छन् । यी कविताहरूले सहिदको योगदान, बलिदानी र त्यागको वयान गरेका छन् ।
आग्रह र पूर्वाग्रहले पनि विगतमा शासकहरूले विभिन्न व्यक्तिलाई मारेको वा सहिद बनाएको प्रसंग यी कविताहरूमा उठाइएको छ । यो स्मारिकामा दुईवटा लेख अंग्रेजी भाषामा पनि समावेश गरिएका छन् । यिनमा डा. अतुल पोखरेलको ‘क्रिएटिङ इकोनोमिक बेसेस फर सोसियल डेमोक्रेसीयन नेपाल’ र विजया दाहालको ‘डेमोक्रेटिक मुभमेन्ट इन नेपाल’ रहेका छन् । यी लेखहरूले पनि प्रजातन्त्र, समाजवाद र नेपालको प्रजातान्त्रिक आन्दोलनहरूका बारेमा प्रकाश पारेको छ ।
सहिदस्मृति प्रतिष्ठानको संक्षिप्त परिचयमा प्रतिष्ठानका महासचिव रामनारायण कुर्मीले प्रतिष्ठानको परिचय विस्तृत रूपमा गराएका छन् । सहिदको परिभाषासम्बन्धी उच्चस्तरीय कार्यदलले तयार पारेको ‘सहिद विषयका पौराणिक र ऐतिहासिक सन्दर्भ’ निकै पठनीय सामग्रीका रूपमा यहाँ समावेश गरिएको छ । यसमा निमी, दधिचि, बेन, प्रमिथस, सुकरात, स्पार्टाकस, एसुक्रिस्ट, जर्दानो, बु्रनोदेखि नेपालका सन्दर्भका भीम मल्ल, एकीकरण अभियानमा मारिएका अरू धेरै सहिदहरू, बहादुर शाह, लखन थापा, मैनाबहादुर, खड्गमान सिंह, कृष्णप्रसाद कोइराला, १९९३ सालदेखि हालका विभिन्न आन्दोलनमा मारिएकाहरूको समेत जानकारी गराएको छ ।
यसैगरी यहाँ सहिदका विभिन्न १४ वटा जति परिभाषा पनि गरिएको छ र तिनको वर्गीकरण, तिनलाई दिइने सम्मानको प्रकृतिलगायत कुराहरू दिइएको छ । यो निकै नै पठनीय रूपमा रोचक ढंगले प्रस्तुत गरिएको लेख हो । स्मारिकामा प्रतिष्ठानका अध्यक्ष तथा यो स्मारिकाका संरक्षक खिलानाथ दाहालले सहिद लीलानाथ दाहालको संघर्ष र सहादतका बारेमा निकै लामो लेख लेखेका छन् । यस लेखका लीला दाहालका बारेमा धेरै जानकारी दिइएको छ । सहिद लीलानाथ दाहाल लेखक खिलानाथ दाहालका दाजु हुन् ।
यसका साथै स्मारिकामा सहिद स्मृति प्रतिष्ठानका केन्द्रीय सदस्य तथा स्मारिका सम्पादन समितिका सदस्य केदार गोर्खालीले २०३१ सालको काठमाडौं बम काण्ड र ललितपुर सहिद स्मृति पार्कका विषयमा लेख लेखेका छन् भने साहित्यकार तथा स्मारिका सम्पादन समितिका सदस्य डा. नारायण चालिसेले पनि सहिदहरूको स्मरण गरेर लेख लेखेका छन् । यसैगरी सहिद स्मृति प्रतिष्ठानका सदस्य तथा स्मारिका सम्पादन समितिका संयोजक बमबहादुर डिसीले पनि निकै लामो तर सहिदहरूसम्बन्धी ऐतिहासिक जनकारीमूलक लेख लेखेका छन् ।
सहिद स्मृति प्रतिष्ठानका सचिव सुदर्शन सिग्देल, अर्थविद प्राडा.रामप्रसाद ज्ञवाली, केशवप्रसाद भट्टराई, चन्द्रदेव भट्ट, डा.अतुल पोखरेल, डा. खगेन्द्र प्रसाईं, प्राडा. यज्ञप्रसाद अधिकारी, प्रदीप ज्ञवाली, प्रा.अमुदा श्रेष्ठ, प्राडा.देवराज दाहाल, युवराज गौतम, पुरुषोत्तम बस्नेतहरूका लेख पनि पठनीय छन् ।
तर, यहाँका सबै लेख राजनीतिक विषयमा मात्रै लेखिएका छैनन् । आर्थिक, सामाजिक लेखहरू पनि छन् । सहिद स्मारिका भएको हुँदा यसमा यस प्रकारका लेखहरू प्रकाशन नगरिएको भए अझै राम्रो हुन्थ्यो होला । सहिदसम्बन्धी लेखले मात्र यो स्मारिकामा ठाउँ पाएको भए यसको गरिमा अझै माथि हुनेथियो ।
स्मारिकामा प्रसिस महरा, कल्याणकुमार गुरुङ, विजया दाहाल, जसधन राईका लेखहरू पनि प्रकाशित छन् । सहिद प्रतिष्ठानले धेरै मिहिनेत गरेर यो उदाहरणीय काम गरेको छ । प्रतिष्ठानको यो सुकर्म नेपालको राजनीतिक इतिहासको एउटा अमूल्य दस्तावेज बन्नसक्ने कुरामा विश्वस्त हुन सकिन्छ । यो सुकर्मका लागि प्रतिष्ठान धन्यवादको पात्र बन्नपुगेको छ ।




















