
पौरस्त्य वाङ्मयमा रहेका जीवनोपयोगी आधारका साथै हाम्रा धार्मिक एवं सांस्कृतिक विषयवस्तुको सप्रमाण परिचय खोज्नेका निम्ति एउटा नयाँ पुस्तकको प्रकाशन भएको छ । सगरमाथाको फेदी सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी–३, पञ्चनमा विसं. २०४३ सालमा जन्मिएका कवि, साहित्यकार एवं समालोचक नारायणप्रसाद निरौलाले नेपाली कला साहित्यका साथै धार्मिक साहित्यमा पनि कलम चलाएर उल्लेख्य योगदान गरेका छन् । गजल विधाबाट नेपाली साहित्यमा प्रवेश गरेका निरौलाको ‘वसन्तको बहारमा’ पहिलो गजल संग्रह हो । यसैगरी कविता, निबन्धका साथै धार्मिक सांस्कृतिक जागरणमा पनि उनको कलम निरन्तर चलिरहेको छ ।
हालै उनको वैदिक वाङ्मयका गहन विषयवस्तुको संक्षिप्त चिनारीसहित शास्त्रीय प्रमाणका साथै वैज्ञानिक व्याख्यासमेत गरेको संग्रहणीय कृति ‘संस्कार–सुलोचना’ प्रकाशित भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका निरौलाले उक्त पुस्तक एक विशिष्ट धार्मिक अनुष्ठानमार्फत् सार्वजनिक गरेका हुन् । पुस्तक काठमाडौं अनामनगर निवासी नारायणप्रसाद ओझाले प्रकाशन गरेका छन् ।
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतम र नेसंवि वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागीय प्रमुख प्राडा. देवमणि भट्टराईका गहन मन्तव्य समेटिएको विविध आवश्यकीय विषयवस्तुको प्रस्तुतिले प्रस्तुत पुस्तक संग्रहणीय बन्न पुगेको छ ।
‘संस्कार–सुलोचना’ अन्तर्गत पाँच खण्ड छन् । हरेक खण्डमा विविध उपयोग विषयवस्तु समविष्ट रहेको पाइन्छ । पहिलो खण्डमा हाम्रा चाडपर्वसम्बन्धी विषयवस्तु छ । वर्षभरिका धार्मिक एवं सांस्कृतिक महŒवका चाडपर्वको बारेमा यस खण्डमा प्रमाणसहित परिचय दिइएको छ । जसअन्तर्गत हाम्रो नव वर्षका वैज्ञानिक आधार, अक्षय तृतीयाका धार्मिक सांस्कृतिक पक्ष, मातातीर्थ औँसी र आमाको महिमा, एकादशी व्रत महिमा, गुरुको शास्त्रीय महिमा, शिव उपासना र श्रावण महिना, नागपञ्चमी महिमा, जनैपूर्णिमा र शास्त्रीय विधान, श्रीकृष्ण जन्माष्टमी र कर्मयोग, हरितालिका तीज र ऋषिपञ्चमीका धार्मिक सांस्कृतिक पक्ष, प्रविधिका पिता विश्वकर्मा, श्राद्ध विवेचना अदिका विषयमा पुस्तकमा विवेचना गरिएको छ ।
दशैं अर्थात् नवरात्रको महिमा, तिहार एक चिनारी, बालाचतुर्दशीमा किन छरिन्छ शतबीज ?, श्रीस्वस्थानी व्रत महिमा, श्रीपञ्चमी र सरस्वती महिमा, शिव आराधनाको उत्तम दिन महाशिवरात्रि, कुन पूर्णिमामा कस्ता पर्वहरू पर्छन् ? शीर्षकमा शोधपरक संक्षिप्त विवेचना प्रस्तुत गरिएको छ ।
दोस्रो संस्कार खण्डमा हाम्रा सोह्र संस्कारको संक्षिप्त विवेचना, व्रतबन्धसम्बन्धी विशेष जानकारीका साथै हाम्रो विवाह पद्धतिको पनि वैज्ञानिक विश्लेषण छ । सोह्रसंस्कार अन्तर्गतको अन्तिम संस्कारको विधि पनि प्रस्तुत गरिएको छ । यसैगरी हाम्रो दैनन्दिनी जीवनमा आइपर्ने जुठो एवं सुतकको बारेमा पनि यस पुस्तकले जानकारी दिन्छ । वर्तमानमा कर्मकाण्ड शब्दको अर्थ अपकर्ष गरी प्रयोग भएको विषयप्रति आपत्ति जनाउँदै पुस्तकमा एक विशिष्ट विधिका रूपमा कर्मकाण्ड रहेको कुरा सप्रमाण प्रस्तुत गरिएको छ ।
यसैगरी संकल्प के हो र किन गर्नुपर्छ भन्ने प्रश्नको ज्योतिषशास्त्रीय आधारमा परिचयात्मक व्याख्या छ । यसैगरी व्रत भनेको के ? व्रत धारण कसरी गरिन्छ र कुुन व्रतको फल के भन्ने बारेमा शास्त्रीय चर्चाका साथै लाखबत्ती प्रज्वलनको धार्मिक महŒव र फल वर्णनसहितको संक्षिप्त विवेचना संस्कार खण्डमा छ ।
तेस्रो पौरस्त्य वाङ्मय खण्डमा षड्दर्शन, अठार पुराणको परिचय, नीति वचन एवं अध्यात्मसम्बन्धी गहन विश्लेषण गरिएको छ । ईश्वर के हुन् भन्ने विषयमा लेखकले गहिरो चिन्तन प्रस्तुत गरेका छन् । तीर्थयात्रा हिँडेका बस किन दुर्घटना हुन्छन् ? भगवान्ले रक्षा गर्नुपर्ने होइन ? भन्ने प्रश्नको सोदाहराण उत्तर मननीय देखिन्छ ।
आजको ज्ञानविज्ञान संस्कृत वाङ्मयकै उपज हो । हरेक विषयवस्तुको ज्ञान संस्कृत वाङ्मयमा पाइन्छ भन्ने कुराको प्रमाणसहित ‘विज्ञानको जननी संस्कृत’ शीर्षकमा प्रदान गरिएको छ । सुख सबैको चाहना हुन्छ तर सुख कसरी प्राप्त हुन्छ भन्ने कुराको उपाय ‘सन्तोषं परमं सुखम्’ भन्ने शीर्षकमा लेखकले प्रस्तुत गरेका छन् । जसको अध्ययनले सुखको बारेमा पौरस्त्य वाङ्मयका जीवन्त बुटी पाउन सकिन्छ । जीवन दर्शन बुझ्न चाहनेका निम्ति यो खण्डको अध्ययन उपयोगी हुने देखिन्छ ।
ज्योतिषीय विषयवस्तुको आवश्यक जानकारीका साथै ज्योतिषका शास्त्रीय विषयवस्तुको सूक्ष्म विश्लेषण चौथो ज्योतिष खण्डमा पाउन सकिन्छ । हामीले बनाउने चिना भनेको के हो ? चिनमा कस्ता कुरा राखिन्छ भन्ने कुराको जानकारीका साथै चिनाको वैज्ञानिक पक्षलाई उजागर ‘चिना किन बनाइन्छ ?’ भन्ने शीर्षकमा गरिएको छ ।
यसैगरी हाम्रा महिना र बारको निर्धारण कसरी गरिएको छ, यसको वैज्ञानिक कारण के हो भन्ने कुरा सप्रमाण प्रस्तुति पाउन सकिन्छ । यसैगरी आकाशमा देखिने ग्रहण के हो ? ग्रहण कसरी लाग्छ ? र ग्रहणमा कस्ता कुरा बार्नुपर्छ भन्ने विषयमा शास्त्रीय प्रमाणसहित प्रस्तुत गरिएको छ ।
आकाशमा बृहस्पति र शुक्र कसरी अस्त हुन्छन्, तिनको प्रभाव कसरी हामीमा पर्छ र गुरु शुक्र अस्तमा के कस्ता कार्य वर्जित रहन्छन् भन्ने कुरा ‘गुरु–शुक्र अस्त र यसले पार्ने प्रभाव’ भन्ने शीर्षकमा धर्मशास्त्रीय प्रमाणसहित व्याख्या गरिएको छ । ग्रहशान्ति कसरी गर्न सकिन्छ ? वास्तुअनुसार हाम्रो घर कस्तो हुनुपर्छ ? भन्ने विषयवस्तुको ज्ञानका साथै सपनाको फल र अन्य आवश्यक ज्योतिषीय विषयवस्तुको उल्लेख यस खण्डमा पाइन्छ ।
यसैगरी उनमासकि श्राद्ध कसरी जुराउने, द्विपुष्कर र त्रिपुष्कर योग भनेको के हो, कुन दिशाको यात्रा गर्दा के खाने, बाटामा अपशकुन देखिए के गर्ने, यात्रामा नवौँ दिन विचार, ग्रह एक राशिमा रहने अवधि, संक्रान्तिको विशेष पुण्यकाल, कार्यअनुसार महिनाको प्रधानता, पञ्चक, सरुन वा भद्रा, महिनाका वैदिक नाम, सूर्यको नाम र मासाधिपति देवी देवता, अधिमास र क्षयमासको परिचयका साथै पूर्णिमा र औँशीका भेदको बारेमा पनि यस खण्डमा संक्षिप्त प्रस्तुति पाउन सकिन्छ । ज्योतिष विषयको चाख राख्नेका निम्ति यो खण्ड उपयोगी देखिन्छ ।
पाँचौं विविध खण्डमा दान गर्ने वस्तु र तिनका देवताको नाम, कुन वस्तु कहाँ छोएर दान गर्ने,, गायत्री मन्त्र, पत्नी कुन समयमा पतिको कता बस्ने, कुन देवताको कतिपटक परिक्रमा गर्ने, त्रिलोक, त्रिमधु, त्रिशक्ति, त्रिगुण, त्रिसन्ध्या, त्रिमद, त्रिदोष, चतुवर्ग, चार वेद, पञ्चांग, पञ्चामृत, पञ्चतत्व, पञ्चधेनु, वेदांग, सप्तर्षि, सात द्विप, सप्तधान्य, अष्टचिरञ्जीवी, अष्टधातु, अष्टांग अर्घ, अष्टांग योग, अष्टवसु, अष्टमहादान आदिका बारे पनि पुस्तकले विस्तृत प्रकाश पारेको छ ।
नवरस, नवदुर्गा, दश महादान, अग्निका दश कला, एकादश रुद्र, सूर्यका बाह्रकला, सूर्यका बाह्र नाम, तेह्र पददान, चौध मनु, चौध विद्या, चन्द्रमाका सोह्र कलाको परिचय दिइएको छ । यसैगरी आरति किन गरिन्छ ?, कुन कार्यमा कुन औंलाको प्रयोग गर्ने ?, कुन मन्दिरमा कुन बाजा निषेध छ ?, घरमा अशान्ति हुने कुरा के के हुन् ? कुन वस्तु कुन देवतालाई प्रिय हुन्छ ?,
कस्तो फूल अशुद्ध मानिन्छ, पीपलको पूजा कहिले गर्ने,, हवनको चरु कसरी बनाउने, कुन–कुन शब्दमा ‘महा’ लगाउनु हुँदैन, ब्रहृममुहूत्र्तमा किन सुत्नु हुँदैन, आसन कस्तो हुनुपर्छ, जनै कतिबेला फेर्नुपर्छ, चन्दन वा टीका निधारमा किन लगाइन्छ, हातमा तीर्थ, साँझबत्ती किन बालिन्छ, वायु विचार कार्यअनुसार अग्निका नाम जस्ता उपयोगी विषयवस्तुक सप्रमाण प्रस्तुत गरिएको छ । यसैगरी अन्त्यमा गोत्र, थर, प्रवरसम्बन्धी संक्षिप्त परिचयपूर्वक गोत्रथर प्रवरावलीको विवरणसमेत प्रस्तुत गरिएको छ ।
नेपाली भाषामा सरल शैलीमा प्रस्तुत पुस्तकले शास्त्रीय कुरा सहज रूपमा बुझाउन सकेको छ । शास्त्रीय प्रमाणका साथै वैज्ञानिक विश्लेषणले हरेक विषयवस्तु रोचक, जानकारीमूलक र जीवन उपयोगी बन्न पुगेका छन् । आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्ने कार्यमा प्रस्तुत पुस्तक कोशेढुंगा सावित भएको छ । एउटै पुस्तकमा विविध विषयवस्तुको प्रस्तुति रहेकाले हाम्रा धार्मिक एवं सांस्कृतिक विषयवस्तुको चाख राख्नेका निम्ति पुस्तक संग्रहणीय छ । सन्दर्भग्रन्थसहित शोधपरक ढंगले प्रस्तुत ‘संस्कार सुलोचना’ पौरस्त्य वाङ्मयमा व्याप्त ज्ञान र विज्ञानको सम्बन्ध सेतु बन्न पुगेको देखिन्छ ।




















