मारुनीको ‘सक्दिनँ म बाँच्न’ रिलिज

 नवल नेपालले निर्देशन गरेको चलचित्र ‘मारुनी’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘जाम्न माया जाम’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शुक्रबार बिहान फिल्मको रोमान्टिक नम्बर सार्वजनिक गरेको हो । 

चलचित्रका मुख्य नायक पुष्प खड्का र नायिका साम्राज्ञी आरएल शाह भिडियोमा देखिएका छन् । गायिका मेलिना राईको स्वरमा रहेको ‘सक्दिनँ म बाँच्न’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत र सुरेश वाग्लेले शब्द सृजेका छन् । गीतको भिडियोमा पुष्प र साम्राज्ञीको केमेष्ट्री कमालको देखिएको छ । दुईको पहिरनमा विशेष ध्यान दिइएको छ । साम्राज्ञीलाई बोल्ड अवतारमा देख्न सकिन्छ । 

पुनम गौतमले निर्माण गरेको चलचित्रमा सहनिर्मातामा राजा प्रधान, दर्शन केसी र मीना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । चलचित्र सञ्जय लामाले खिचेका हुन् । चलचित्रमा नायिका रेविका गुरुङको पनि मुख्य भूमिका छ । पुष्प र साम्राज्ञी दुवै चलचित्र लिएर उत्साहित छन् । 

निर्देशक नेपाल भन्छन्, ‘हामीले दर्शकको मनछुने फिल्म बनाउने प्रयास गरेका छौं । राम्रारनराम्रो दुवै प्रकारका प्रतिक्रिया सुन्न हामी तयार छौं ।’ चलचित्रमा सुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइँलगायत कलाकारको अभिनय छ भने चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ । यो चलचित्र आगामी भदौ १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।