काठमाडौं । शनिबार दिउँसो दुई बजे बेनिशा काठमाडौंको कालिमाटीमा रहेको चेली मेकअप स्टुडियोको वार्षिक उत्सवमा पुगेकी थिइन् । निमन्त्रणालाई स्वीकार्दै केक काट्न पुगेकी बेनिशा अभिनित चलचित्र ‘घर’ अहिले नेपाली फिल्महलहरूमा लागिरहेको छ ।
उक्त कार्यक्रममा पनि आफ्नो चलचित्रको प्रमोशन गर्न भ्याएकी थिइन् । केहीबेर बोल्नेक्रममा एक नृत्यको पालो आएको थियो । जुनबेला उनले सोचेकी थिइनन् कि कार्यक्रममा भूत आउला । सेतो पहिरन लगाएको भूत अगाडि देख्दा भूतसँग नडराउँदिन भन्ने बेनिशाको होस् नै उड्यो ।
नायिका बेनिशाको अगाडि एक्कासि भूत आएपछि केहीबेर आँखा चिम्लेर घोप्टी परेरै बसिन् । ‘मैले सोचेकी थिइन् यसरी भूत नाँच्न आउँछ भनेर ।’ बेनिशाले कार्यक्रमपश्चात् भनिन् । कार्यक्रममा बेनिशाको चलचित्र ‘घर’को प्रमोशनमा थप मद्धत पुगोस् भन्ने हेतुले आयोजकले सरिता भारतीलाई भूतको मेकअप गराएको थियो । हरर जनरामा निर्माण भएको यो चलचित्र हेरेर धेरै दर्शक तर्सिएका पनि छन् ।
‘म भूत पनि हुन्छ र भन्ने मान्छे हूँ, खासै डर त लाग्दैनथ्यो तर एक्कासि अगाडि आएपछि केही होस् हुँदो रहेनछ’, बेनिशाले हिमालय टाइम्ससँग भनिन्, ‘सोँच्दै नसोचेको कुरा भएर होला, सात्तो नै गयो नि ।’ बेनिशालाई तर्साउनकै लागि चेली मेकअप स्टुडियोकी सञ्चालिका विना रानामगरले योजना बनाइएको बताइन् ।
उनी भन्छिन्, ‘मेकअप स्टुडियो हो केही फरक गरौं भन्ने लाग्यो । फेरि बेनिशा जीको भूतसँग सम्बन्धित चलचित्र पनि रिलिज भएको छ । थप प्रमोशनमा पनि मद्धत पुग्छ त्यसैले यो योजना बनाइएको हो ।’ गत वर्षबाट सञ्चालनमा आएको उक्त स्टुडियोमा ट्रेनिङ लिएका विद्यार्थीलाई बेनिशाको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । रंग पत्रकार डब्बु क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा नायिका बेनिशा र विनाले संयुक्त केक काटेका थिए ।
चलचित्र बारे बोल्दै बेनिशाले दर्शकबाट राम्रो प्रतिक्रिया आएको बताइन् । उनले चलचित्रले दर्शकलाई तर्साउन सफल भएको बताइन् । ‘घर भन्ने बित्तिकै हामीले आफू बस्ने ठाउँ भनेर बुझ्छौं । एउटा घर आफ्नो होस् भन्ने सबैको चाहना हुन्छ । तर त्यस्तो कुनै घरभित्र भूत पनि हुन्छ भन्ने चलचित्रमा देखाइएको छ’, बेनिशाले भनिन्, ‘आज रिलिज भएको दुई दिनमात्र भएको छ । अहिलेसम्म दर्शकबाट निकै राम्रो प्रतिक्रिया आएको छ ।’ शुक्रबार बिहान सञ्चारकर्मीलाई देखाइएको विशेष शोबाट पनि चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । अर्पण थापा निर्देशित ‘घर’मा बेनिशासँगै सुरक्षा पन्तको अभिनय छ । यो चलचित्रमा सर्मिला पाण्डेयले लगानी गरेकी छन् ।




















