नयाँदिल्ली । भारतको कैयौ भागमा बाढी खतरा अझै यथावत् रहेको छ । यद्यपि भारतको पूर्वीराज्य विहार र उत्तरपूर्वी राज्य आसाम र उत्तर प्रदेशका केही भाग बाढीको यस प्रकोपबाट बढी प्रभावित भएको छ ।
मनसुनी वर्षा त्यसपछिको बाढीको कारणले पछिल्ला केही दिनमा भारतमा ज्यान गुमाउने व्यक्तिको संख्या एक सय पुगेको छ । सो प्रकोपको कारण ८० लाखभन्दा बढी व्यक्ति बाढी प्रभावित क्षेत्रबाट विस्थापित भएका सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन् ।
बाढी प्रभावित व्यक्तिको लागि राज्य सरकारका प्रतिनिधिले खानेकुरा, लत्ताकपडा र औषधिलयायत अन्य आवश्यक सामग्री प्रवन्ध मिलाएको बताइएको छ । हालै विहारमा आएको बाढीको प्रमुख कारण अबिरलरूपमा परेको मौसमी वर्षा भएको बताइएको छ । यस वर्षाको कारण नेपालको कैयौं इलाकासमेत जलमग्न भएको थियो । विहारमा यस प्रकोपको कारण ३३ व्यक्तिको मृत्यु हुनुको साथै करिब २७ लाख व्यक्ति प्रभावित भएका विहार प्रकोप व्यवस्थापन विभागले सिन्हृवा समाचार समितिलाई टेलिफोनमार्फत जानकारी दिएको बताइएको छ ।
विहारको सीतामढी राज्यमा ११ व्यक्तिको मृत्यु भएको यो संख्या अन्य इलाकामा भन्दा उच्च रहेको बताइएको छ । यद्यपि सञ्चारमाध्यामका अनुसार विहारमा मात्र ७० व्यक्तिको मृत्यु भएको जनाइएको छ । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको यसअघि नै प्राप्त समाचारमा जनाइएको थियो । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौं व्यक्ति प्रभावित पनि भइरहेको तथा अरू पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको थियो । त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौं नागरिकको ज्यान गएको छ भने लाखौं व्यक्ति प्रभावित भएका छन् ।
ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धारकार्य गरिरहेको छ । आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायत सहयोग सो समितिले ती देशमा उपलब्ध गराइरहेको छ ।
भारतमा खास गरी बाढीबाट विहार र उत्तरप्रदेश धेरै प्रभावित भएको छ । नेपालहुँदै विहार प्रवेश गर्ने कोशी नदी नै विहारको प्रमुख दुःख हो । भारतीय सरकारले विहारमा बाढी नियन्त्रणका लागि कोशी बाँध निर्माण गरे पनि त्यसले बाढी नियन्त्रण नभएको भन्दै भारतमा विरोधका आवाज बढिरहेका छन् । यता नेपालमा पनि भारतले बनाएको सो बाँधलगायत अन्य तटबन्दका कारण नेपालमा पनि बाढीले क्षति गरेको बताइन्छ ।




















