केन्याबाट १२ नेपाली महिलाको उद्धार, आफन्तको जिम्मा लगाइयो

काठमाडौं । अफ्रिकी मुलुक केन्या पुगेका १२ जना नेपाली महिलालाई उद्धार गरी नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा केन्या पुगेका उनीहरूलाई नेपाल ल्याएर आफन्तको जिम्मा लगाइएको छ । 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलले निरन्तर फलोअप गरी केन्यास्थित गैरआवासीय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दूतावास, डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्यालगायत अन्य संघसंस्थाको सहकार्यमा बिहीबार अन्तर्राष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरूलाई नेपाल ल्याएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरू भारत हुँदै केन्या पुगेका थिए । त्यहाँको मुम्बासा सहरस्थित रंगिला डान्सबारमा केन्या प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ गरेको थियो । नेपाली महिलाहरुसँगै बारका मालिक पनि पक्राउ परेका थिए ।

ती महिलालाई केन्या पु¥याउने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरी ल्याइएका महिलाले भने आफूहरू स्वेच्छाले गएको बताएका छन् । उनीहरूले आफूहरूलाई कसैले झुक्याएर वा जोरजबजरस्ती नलगेको प्रहरीसमक्ष बताएका हुन् ।