काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लोकतन्त्रको रक्षा गर्ने र शान्ति सुरक्षा कायम गर्ने क्रममा सर्लाहीमा कुमार पौडेलको मृत्यु भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले जनताको जिउ ज्यानको सुरक्षा गर्ने क्रममा पौडेलसँगै सरोजनारायण यादवको मृत्यु भएको बताएका हुन् ।
‘लोकतन्त्रको रक्षा गर्न सरकार प्रतिबद्ध छ । राज्यलाई जनताको जनादेश त्यही छ । त्यो भूमिकामा हामी प्रतिबद्ध छौँ । यही क्रममा ती घटना घटेका हुन्,’ गृहमन्त्री थापाले भने, ‘विप्लव समूहले चन्दा आतंक मच्चाएका कारण शान्ति, सुव्यवस्था कायम गर्न खोज्दा सर्लाहीको घटना घटेको हो । शान्ति, सुव्यवस्था र आगमनलाई सुचारु बनाउन खोज्दा यस्तो भएको हो ।’
यादवको गोली लागी मृत्यु भएको घटनाबारे संसद्लाई जानकारी दिँदै उनले अवरुद्ध राजमार्ग खुलाउने क्रममा उक्त घटना हुन गएको बताए । ‘ईश्वरपुरको हकमा भने राजमार्ग अवरुद्ध गरेपछि खुलाउन खोज्दा यस्तो भएको हो । प्रहरीमाथि ढुंगामुढा भएपछि यो घटना भएको हो,’ उनले भने, ‘छानविन समिति बनेको छ । खाल्डोका बारेमा, त्यहाँका ठेकेदार र स्थानीय सरकारको बारेमा पत्ता लगाउन छानविन चलिरहेको छ । दोषीहरूमाथि राज्यले कारबाही गर्नेछ ।’
केही दिनअघि ईश्वरपुरमा क्रसर व्यवसायीले खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएपछि स्थानीयले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा यादवको मृत्यु भएको थियो ।
विपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विप्लवका सर्लाही इञ्चार्ज पौडेलको मुठभेडको नाममा नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाउँदै संसद्मा गृहमन्त्रीको जवाफ मागेका थिए ।
जवाफमा गृहमन्त्री थापाले जनताको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्ने दायित्व सरकारको भएको भन्दै सोही क्रममा सरकारले कदम उठाएको बताए ।
‘सर्लाहीमा विप्लव समूहले आतंक मच्चाइरहेको थियो । चन्दा आतंक, जनप्रतिनिधिलाई धम्की दिने काम भइरहेको थियो । त्यहाँ जनप्रतिनिधिहरूकै मागअनुसार शान्ति सुव्यवस्था होस्, जनताको जिउधनको रक्षा होस् भन्ने मागअनुसार नै राज्यले कदम उठाएको हो,’ उनले भने । गृहमन्त्री थापाले विप्लवका जिल्ला इञ्चार्ज पौडेलको ‘इन्काउन्टर’ हुँदा केन्द्रबाट प्रहरी परिचालन भएको बताए ।
‘सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केन्द्रबाट विशेष दस्ता परिचालित भएको थियो । प्रदेश र जिल्लाबाट प्रहरी परिचालित भएर कारबाही गरिएको हो,’ गृहमन्त्रीले भने, ‘सुरक्षा निकायको खोजी सूचीमा रहेका कुमार पौडेल सर्लाहीबाट सिन्धुली जाँदै गर्दा बाटोमा प्रहरीसँग जम्काभेट हुँदा घटना भएको हो ।’
उनले प्रहरीसँगको जम्काभेटका क्रममा पौडेलसँगै रहेका विप्लवका अन्य कार्यकर्ता गोली चलाउँदै भागेको बताए । ‘अन्यले फायर गरेर जंगलतर्फ भागे । तर, कुमार पौडेलले प्रहरीमाथि मिस फायर गरे । त्यसपछि प्रहरीले जवाफी फायर गर्दा उनी मारिएका हुन्,’ गृहमन्त्री थापाले भने ।
गृहमन्त्रीको जवाफमा कांग्रेस र राजपाका सांसदहरूले चित्त बुझाएनन् । पूरक प्रश्न गर्ने क्रममा कांग्रेस सांसद भरतकुमार शाहले गृहमन्त्रीको जवाफ सत्यतथ्यमा आधारित नभएको भन्दै असन्तुष्टि जनाए । उनले संसदीय छानविन समिति गठन हुनुपर्ने माग गरे ।
पूर्व–गृहराज्यमन्त्रीसमेत रहेका कांग्रेस सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले दाबी गरेजसरी भाँचिएको हातले दोहोरो फायर हुनै नसक्ने ठोकुवा गरे ।
राजपाका प्रमोद साहले गृहमन्त्री थापालाई इंगित गर्दै भने, ‘राज्यको कुर्सीमा बसेपछि कस्तो जवाफ दिनुहुन्छ भन्ने बुझेँ । तपाईं पनि त्यही बाटो आउनुभएको हो । कुमार पौडेलको प्रकरणमा झुटो बोल्नुभएको छ ।’
कांग्रेसका डा. डिला संग्रौला पन्तले गृहमन्त्रीको जवाफलाई झुटको पुलिन्दाको संज्ञा दिइन् । ‘अमित रायको मृत्यु भएको छ । त्यहाँका जनताले न्यायका लागि प्रदर्शन गर्दा गोली हानेर एक युवाको हत्या गरियो । झुटको विवरण दिएर जनतालाई झुक्याउन पाइँदैन । त्यो विषयमा छानविन गर्नुपर्छ ।’
कांग्रेसकै सांसद मीन विश्वकर्माले पनि गृहमन्त्रीले झुटो विवरण संसद्मा प्रस्तुत गरेको आरोप लगाए । राजपा अध्यक्ष मण्डलका सदस्यसमेत रहेका सांसद राजकिशोर यादवले गृहमन्त्रीको भनाइ बनिबनाउ आएको टिप्पणी गरे । उनले न्यायिक छानविन समिति गठन गर्न माग गरे । सरोज नारायण महतोको टाउकोमा गोली लाग्नुको कारण पनि उनले मागे ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सरकारका कामकारबाहीबारे सर्वसाधारण जनताले असहमति जनाउने प्रजातान्त्रिक अभ्यास भए पनि विरोध गर्नेलाई सरकारले दमन गरेको आरोप लगाए ।
सांसदका पूरक प्रश्नहरूको जवाफमा गृहमन्त्री थापाले सरकार लोकतन्त्रको रक्षा र जनताको जिउधनको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए । गृहमन्त्रीले जवाफ दिइरहँदा प्रतिपक्षी राजपाका सांसदले आपत्ति जनाएका थिए । उनीहरूले आशनबाट उठेर गृहमन्त्रीको भनाइको विरोध गरेका थिए ।



















