काठमाडौं । सरकारले आगामी साउनमा राष्ट्रिय परिचयपत्र वितरणको दोस्रो चरण सुरु गर्ने भएको छ । पहिलो चरणमा पाँचथर सिंहदरबारका कर्मचारीबाट सुरु भएको थियो । ‘बायोम्याट्रिक’ सूचनासहितको परिचयपत्र दोस्रो चरणमा देशभर परिचयपत्र वितरणको तयारी भइरहेको जनाइएको छ ।
पहिलो चरणमा १ लाख १७ हजार परिचयपत्र वितरण गरेको जनाइएको छ । आगामी दुई वर्षभित्र १६ वर्ष उमेर पूरा भएका १ करोड ६० लाख नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारी योजना छ । गत मंसिर ३ गते पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई गृहमन्त्री रामबहादुर थापाले पहिलो परिचयपत्र प्रदान गरेका थिए ।
साउनदेखि हरेक प्रदेशका दुई÷दुई र प्रदेश ३ का तीन जिल्ला गरी १५ जिल्लामा र आगामी दशैंपछि बाँकी जिल्लामा वितरण शुरु गर्ने गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार प्रदेश १ को झापा र संखुवासभा, प्रदेश २ को सप्तरी र महोत्तरी, प्रदेश ३ को लतिलपर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला र सुदूरपश्चिम प्रदेशको अछाम र कञ्चनपुर छनोट भएका छन् ।
देशभर वितरण गर्न एक हजार स्टेसनका लागि कर्मचारीको विज्ञापन भएको र कार्यालय स्थापना तथा आवश्यक सामानको बोलपत्र गरिएको विभागले जनाएको छ । प्रतिस्टेसनमा कम्तीमा एकजना विभागका कर्मचारी हुनेछन् भने विस्तृत काम सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका कर्मचारीबाटै हुनेछ । वडास्तर र टोलमै पुगेर परिचयपत्रका लागि फारम भराउने कामका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले त्यहाँको वस्तुस्थिति र शान्ति सुरक्षा स्थिति हेरेर स्टेसन खडा गर्नेछन् ।
सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरणका लागि साढे सात अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई मंगलबार राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक काफ्लेले परिचयपत्र हस्तान्तरण गरेका हुन् ।
यसअघि, सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि चाँडै हस्तान्तरण गरिने विभागले जनाएको छ ।
परिचयपत्रका लागि नागरिकका ३० वटा सूचना आवश्य पर्नेछ । फाराममा १० वटै आंैलाको छाप (१० वटा), आँखाको नानी फोटोलगायत लिइनेछ । राष्ट्रिय परिचय पत्रमा नागरिकका सबै किसिमका सूचना रहनेछ र त्यसले नागरिकताको प्रमाणपत्रको काम गर्नेछ ।




















