डाइपरमा आधा किलो सुन

काठमाडौं । प्रहरीले बालबालिकालाई प्रयोग गर्ने डाइपरमा लुकाएर ल्याउँदै गरेको ५ सय ग्राम अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा मोरङका लीलाबहादुर बस्नेत र नवलपरासीका वीरबहादुर थारू रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई आइतबार विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।

तीन वर्ष वैदेशिक रोजगारीमा कतारमा बसेर घर फर्किएका बस्नेतले कपडाको डाइपर बनाएर त्यसको बटममा सुन लुकाई ल्याएको प्रहरीले जनाएको छ ।  सुन ल्याउन प्रयोग गरिएको डाइपरको बटममा ‘रिङ’ बनाएर राखेको अवस्थामा सुन ल्याएका भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका बस्नेतले सुन आफ्नो नभएको बताएका प्रहरीको भनाइ छ  ।  उनले कतारमा रहेका साथीले कतारबाट घर फर्कने क्रममा पैसा दिएर ‘डाइपर लगिदिनु’ भनेर पठाएको बयान दिएको प्रहरीले जनाएको छ । यस्तैगरी, त्रिभुवन विमानस्थलबाटै थारू अवैध सुनसहित पक्राउ परेका हुन् । उनले पनि बच्चाको डाइपरमै सुन भित्र्याएका प्रहरीले जनाएको छ ।