सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्ने

लण्डन । आइसिसी क्रिकेट विश्वकप २०१९ को सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्ने भएका छन् । अन्तिम खेलमा दक्षिण अफ्रिकासँग पराजित हुँदै दोस्रो स्थानमा झरेपछि अष्ट्रेलियाले फाइनल प्रवेशका लागि तेस्रो स्थानको इंग्ल्याण्डसँग भेट पक्का गरेको हो ।

उनीहरूबीचको दोस्रो सेमिफाइनल आउँदो बिहीबार हुनेछ । त्यसअघि मंगलबार पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्ने भएका छन् । शनिबार राति भएको अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको भारतले चौथो स्थानको न्युजिल्याण्डसँगको भेट पक्का गरेको हो ।

शनिबार समूह चरणका सम्पूर्ण खेल सकिँदा भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, घरेलु टोली इंग्ल्याण्ड तेस्रो र न्युजिल्याण्ड चौथो स्थानमा रहृयो ।

समूह चरणमा भारत र न्युजिल्याण्डको खेल वर्षाले रद्द भएका कारण यो विश्वकपको सेमिफाइनलमा पहिलोपटक यी दुई टोलीहरू भिड्न लागेका हुन् । विश्वकपको इतिहासमा भारत र न्युजिल्याण्डले सेमिफाइनलमा खेल्न लागेको पनि यो पहिलोपटक हो ।

यस्तै, अष्ट्रेलिया र इंग्ल्याण्डले ४४ वर्षपछि विश्वकपको सेमिफाइनलमा भिड्न लागेका हुन् । सन् १९७५ को विश्वकपको सेमिफाइनलमा यी दुई टिम भिड्दा अष्ट्रेलिया ४ विकेटले विजयी भएको थियो ।

रोहित शर्माको पाँचौं शतक

रोहित शर्माले जारी विश्वकपमा पाँचौं शतक प्रहार गरेपछि शनिबार राति श्रीलंकालाई ७ विकेटले पराजित गर्दै भारत ९ खेलमा १५ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । पछिल्ला तीन खेलमा लगातार शतक प्रहार गरेका रोहित एकै विश्वकपमा ५ शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने ।

रोहितले ९४ बलमा १४ चौका र २ छक्कासहित १ सय ३ रन बनाएपछि भारतले श्रीलंकाले दिएको २ सय ६५ रनको लय ४३.३ ओभरमा ३ विकेट गुमाई भेटाएको थियो । त्यसबाहेक भारतका लागि अर्को ओपनर केएल राहुलले १ सय ११ रनको शतकीय पारी खेले । १ सय १८ बलको सामना गरेका राहुलले ११ चौका र १ छक्का प्रहार गरे ।

विराट कोहली ३४ रनमा नटआउट रहे । पहिलो विकेटका लागि रोहित शर्मा र के एल राहुलबीच १ सय ८९ रनको बलियो साझेदारीको मद्दतमा भारतले जित हात पारेको हो । श्रीलंकाका लाथिस मालिंगा, कासन राजिथा र इसुरु उडानाले समान १–१ विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले एन्जिलो म्याथ्युजको शतकको मद्दतमा ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनाएको थियो । १२औं ओभरमा ५५–४ को दयनीय अवस्थामा रहेका बेला श्रीलंकालाई म्याथ्युजले उकासेका थिए ।

पाँचौं विकेटका लागि म्याथ्युजले लहिरू थिरिमानेसँग १ सय २४ रनको साझेदारी गर्दै श्रीलंकालाई सो स्कोरमा पु¥याएका हुन् ।

म्याथ्युजले १ सय १३ रनको शतकीय इनिङ्स खेले । १ सय २८ बल खेलेका उनले १० चौका र २ छक्का प्रहार गरे । यस्तै थिरिमानेले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा धनञ्जय सिल्भाले २९ रनको योगदान गरे । भारतका जस्प्रित बुम्राले ३ विकेट हात पारे ।

अष्ट्रेलिया स्तब्ध

लिग चरणको अन्तिम खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले स्तब्ध बनेको छ । शनिबार राति ओल्ड ट्राफोर्डमा दक्षिण अफ्रिकाले दिएको ३ सय २६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर ३ सय १५ रनमा समेटियो ।

अष्ट्रेलियाका ओपनर डेभिड वार्नरले शतक प्रहार गरे पनि अन्यले उनलाई साथ दिन सकेनन् । वार्नरले १ सय १७ बलमा खेल्दै १५ चौका र २ छक्कासहित १ सय २२ रन जोडे । यस्तै, एलेक्स केरीले ८५ रन, मार्कुस स्टोनिस २२ रन तथा उस्मान ख्वाज्वाले १८ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि कागिसो राबडाले ३ विकेट लिए । यस्तै, एडीले लक्की र ड्वाने प्रिटोरिउसले २–२ विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले फाफ डुप्लेसिसको शतकको मद्दतमा ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय २५ रन बनाएको थियो । डु प्लेसिसले ९४ बल खेल्दै सय रन जोडे । यस्तै भान डेर डुसेनले ९५ रन र क्विनटन डी ककले ५२ रन जोडेपछि दक्षिण अफ्रिकाले विजयी लक्ष्य बनाएको थियो ।