काठमाडौं । राजधानीमा बढ्दै गएको सडक दुर्घटना न्युनीकरणका लागि प्रयोग गरिएको ‘लेजर स्पिड गन’ प्रभावकारी देखिएको छ । सडकमा सवारीसाधनको तीव्र गति नियन्त्रण प्रयोग गरिएको लेजर स्पिड गनको सहायताले एक महिनामा ८ सयभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् ।
जेठ २१ गतेबाट कोटेश्वर–कलंकी सडकखण्डमा गुड्ने सवारीसाधनको गति लेजर गनमार्फत मापन हुँदै आएको छ । महानगरीय ट्राफिक प्रहरीका अनुसार लेजर स्पिड गनको सहायताले ८१० वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले फरकफरक रुट बनाएर लेजर स्पिड गनमार्फत सवारीसाधनको गति हेर्ने गरेको छ । महाशाखाले मुख्य लेनमा प्रतिघण्टा ५० किमि र सर्भिस ट्र्याकमा प्रतिघण्टा २० किमि गति निर्धारण गरेको छ । सवारीचालकले सडकमा ८० किमि प्रतिघण्टासम्म कुदाउने गरेको महाशाखाका प्रवक्ता जयराज सापकोटाको भनाइ छ ।
निरर्धारितभन्दा तीव्र गतिमा गुडेका सवारीसाधनलाई महाशाखाले कारबाही गर्दै आएको छ । तिनले १ हजार जरिवाना तिर्नुपर्छ । हालसम्म कारबाहीमा पर्ने अधिकांश मोटरसाइकल चालक छन् भने त्यसपछि ट्रक छन् । तीव्र गति नियन्त्रण गर्ने अभियान सुरु गरेसँगै दुर्घटना कम भएको प्रवक्ता सापकोटा बताउँछन् । उनी भन्छन्, ‘दुर्घटनाको मुख्य कारण तीव्र गति नै, हो यसमा कडाइ गरेसँगै दुर्घटना कम भएको छ ।’
भक्तपुरमा पनि लेजर स्पिड गन प्रयोग गरिएको छ । काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अघिकतम गति प्रतिघण्टा ५० किमि तोकिएको छ ।




















