हङकङ । चीनलाई हङकङ हस्तान्तरण गरिएको २२औं वार्षिकोत्सव मनाइँदै गर्दा हङकङमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । वर्षगाँठका समारोह त्यहाँ भएका हिंसात्मक विरोध प्रदर्शनका कारण प्रभावित भएका छन् ।
प्रदर्शनकारीले त्यहाँको विधायिकी परिषद्को भवनमा जबरजस्ती पस्ने प्रयास गरेका थिए । नाली सफा गर्ने ठानिएको तरल पदार्थले छ्यापिदिएपछि १३ जना प्रहरी अस्पताल भर्ना भएका छन् । हजारौं प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास तथा लाठी प्रयोग गरेको थियो । हङकङकी प्रमुख कार्यकारी क्यारी लाम झण्डोत्तोलन समारोहमा सहभागी भइरहँदा उक्त क्षेत्रमा दंगा प्रहरी परिचालन गरिएको छ ।
उनीहरूले प्रदर्शनकारीहरूलाई तितरवितर पार्ने प्रयासस्वरूप पीपर स्प्रे अर्थात् आँखा पिरो पार्ने रसायन प्रयोग गरेका छन् । यसअघि हङकङमा दशौं हजार बेइजिङ समर्थक प्रदर्शनकारी पनि प्रहरीको समर्थनमा ¥यालीमा उत्रेका छन् । सेतो र नीलो रंगका लुगा लगाएका प्रदर्शनकारीले चिनियाँ झण्डा बोकेका थिए । त्यहाँ एक महिनायता सुपुर्दगीसम्बन्धी एउटा विधेयकको विरोधमा प्रदर्शनकारीले बहरमा प्रदर्शन गरेका छन् ।
सन्दिग्धलाई अभियोजनका लागि मुख्यभूमि चीन पठाउने सकिने प्रस्तावित व्यवस्थाको विरोधमा त्यहाँ अहिलेसम्मकै दुई ठूला ¥यालीहरू आयोजना भएका थिए ।
जुलाई १२ मा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गर्दै भिडलाई तितरबितर पार्दा त्यहाँ थुप्रै दशकपछि हिंसक प्रदर्शनहरू भएका थिए । हङकङकी न्यायमन्त्री टेरेजा चेंगले प्रहरी दमनमाथि अनुसन्धान हुने कुरालाई अस्वीकार गरेकी छन् । यद्यपि प्रदर्शनकारीले सरकारलाई माफी माग्न र प्रस्तावित विधेयक निलम्बन गर्न बाध्य पारेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार आइतवार झण्डै एक लाख ६५ हजार बेइजिङ समर्थक प्रदर्शनकारी तमार पार्कमा भेला भएका थिए । तर विधेयकका विरुद्धमा उभिएकाभन्दा ती निकै कम मानिस हुन् ।
अभियानकर्मी समूहहरूले आफ्नो पछिल्लो ¥यालीमा २० लाख मानिस सहभागी भएको बताएका छन् ।विवादास्पद विधेयकले बलात्कार र हत्याजस्ता अपराधका सन्दिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउसामु सुपुर्दगी गर्न सकिने प्रस्ताव गरेको थियो ।
हङकङ सन् १९९७ यता ‘एक देश, दुई प्रणाली’ अन्तर्गत चीनको अंग रहिआएको छ । त्यसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रतासहित मुख्यभूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ । तर प्रदर्शनकारीहरू सुपुर्दगी विधेयकले हङकङलाई योजनाबद्ध ढंगबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको भनेर भय प्रकट गर्छन् ।



















