काठमाडौं । चलचित्र प्रेम गीतको तेस्रो सिरिज निर्माण हुने भन्दै गर्दा मुख्य नायिकाको खोजी गरिएको केही सातापछि फाइनल गरिएको छ । यसअघि अडिसनबाट २५ जना छानिएको थियो र तिनै २५ बाट एकजना छान्नुपर्ने थियो । अन्ततः मुख्य नायिकाका लागि क्रिष्टिना गुरुङ छानिएकी छिन् ।
निर्माण टिमले क्रिष्टिनाका केही तस्वीरसँगै प्रेम गीत ३ मा उनलाई समावेश गरिएको भूमिका पोष्टरसमेत सार्वजनिक गरेको छ । यो चलचित्रका निर्माता निर्देशक सन्तोष सेनका अनुसार अभिनेत्री चयनको तीन महिना लामो प्रक्रियापछि क्रिष्टिना प्रेम गीत ३ मा चयन भएकी हुन् । क्रिष्टिना केही वर्ष यताबाट अमेरिकामा बस्दै आएकी थिइन् ।
निर्माता सन्तोष सेनले नायिका चयनबारे भने, ‘हामीहरूका लागि सबै उत्कृष्ट हुनुहुन्थ्यो, तर पनि एकजना उत्कृष्ट चयन गर्नुपर्ने भएकाले क्रिष्टिनालाई गीत पात्रका लागि छानेका हौं । अडिसनमा सहभागी हुनु भएकोमा सबैलाई सन्तोषले धन्यवाद ज्ञापन गर्दै भने, ‘अडिसनमा छानिएका उत्कृष्ट टप २५ लगायत अडिसनमा सहभागी हुनुभएका सबैलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद ।’ चलचित्र प्रेम गीत ३ मा अब अभिनेता प्रदीप खड्कासँगै नव अभिनेत्री क्रिष्टिना गुरुङ, अभिनेता शिव श्रेष्ठ, खल अभिनेता सुनील थापा, नव अभिनेता मनिष राउत, अनुभव रेग्मीर, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरीसहितको मुख्य भूमिका रहने भएको छ ।
यसैबीच, चलचित्र प्रेम गीत ३ का मुख्य नायक प्रदीप खड्काले आफ्नो जोडीका रूपमा चयन भएकी नायिका क्रिष्टिनालाई यो चलचित्रमा नायिकाको रूपमा चयन भएकोमा बधाई दिएका छन् । राम्रो नायिका चयन भएकोमा प्रदीप पनि खुसी छन् ।
यो चलचित्रको नायिकाको लागि आह्वान गरिएको अडिसनमा देश विदेशबाट २७ सय १४ जनाले तस्वीर पठाएका थिए । जसबाट उत्कृष्ट २५को चयन दुई महिनाअघि नै गरिएको थियो । अब एक कार्यक्रमबीच यो चलचित्रको निर्माण घोषणासँगै फिल्मको वर्कसप पनि सुरु गर्ने निर्देशक सेनले बताएका छन् । चलचित्र आगामी चैत २८ मा प्रदर्शन हुनेगरी काम सुरु गरिने बताइएको छ ।




















