विदेशी अवार्डलाई सरकारी ढुकुटी रित्याउनु लगत

काठमाडौं । इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा हुने भनिएसँगै अहिले सरकारको चर्को आलोचना भइरहेको छ । यस भारतीय फिल्म अवार्ड काठमाडौंमा गर्न स्वीकृति दिने निर्णय साउन ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । भारतको अवार्डलाई नेपाली पैसा किन दिने भनेर अहिले सामाजिक सञ्जालमा नेपाली चलचित्रकर्मी तथा अन्यले आलोचना गरिरहेका छन् । 

सरकारले नेपालको अन्तर्राष्ट्रिय प्रचार हुने र पर्यटन उद्योगलाई फाइदा पुग्ने अपेक्षा स्वरूपमा सकारात्मकरूपमा लिएको छ तर अधिकांश नेपाली चलचित्रकर्मीहरूले यदि नेपाली पैसा खर्च नगरी यस अवार्ड नेपालमा सम्पन्न गरिन्छ भने त्यो उपर्युक्त हुने तर्क दिएका छन् । नेपाली चलचित्रको प्रमोसनका लागि एक रुपैयाँ खर्च नगर्ने सरकारले विदेशी अवार्डका लागि करोडौं खर्च गर्न तम्सिनु लाजमर्दो भएको तर्कसमेत धेरैले दिएका छन् । सरकारको तर्फबाट आधिकारिक खर्च नखुलाइए पनि अवार्ड आयोजनाका लागि नेपालले कम्तीमा एक अर्ब खर्च गर्ने र त्यसबाहेक करिब ४५ करोड रुपैयाँ काठमाडौं महानगरपालिकाले आइफालाई नगद दिने समाचार बाहिर आएका छन् । मन्त्रिपरिषद्ले गरेको निर्णयमा पर्यटन बोर्डको नेतृत्वमा अवार्ड आयोजना गर्ने र काठमाडौं महानगरपालिका सहआयोजक रहने बताइएको छ । 

यसैबीच केही नेपाली चलचित्रकर्मीले आइफा अवार्ड नेपालमा हुने भन्ने खबर सुनेसँगै दिएका प्रतिक्रिया यस्ता छन् । 

सरकारको लगानी व्यर्थैः भुवन केसी

‘यस्तो अवार्ड नेपालमा हुनु नराम्रो होइन तर नेपाल सरकारले करोडौं पैसा खर्च गर्ने कुरा आइरहेको छ त्यो व्यर्थै हो । यति ठूलो धनराशि विदेशी अवार्डलाई खर्च गर्नुभन्दा नेपालकै फिल्म क्षेत्रमा खर्च गर्ने हो भने हाम्रो नेपाली फिल्म क्षेत्र पनि फराकिलो बन्न सक्थ्यो । बरु त्यो पैसा नेपाली फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउनका लागि अन्य उपाय खोज्न सकिन्छ तर अवार्डमा खर्च गरेर उपलब्धि देख्दिनँ ।’

थोरै पाउन धेरै खर्च किनः करिश्मा मानन्धर

‘विदेशको अवार्ड नेपालमा भित्र्याउन नराम्रो कुरा होइन, यो कुरामा सकारात्मक छु । तर, सरकारले जुनरूपमा ठूलो बजेट यो अवार्डलाई दिँदै छ त्यो कुरा सराहनीय भएन । अहिलेसम्म नेपाली फिल्म क्षेत्रका लागि सानो रकम पनि नछुट्याएको सरकारले यति ठूलो बजेट विदेशी फिल्मका लागि दिएर नेपाललाई के फाइदा ? केही हदसम्म नेपालको प्रचार होला तर निकै कम उपलब्धि पाउनका लागि ठूलो खर्च गरिँदै छ ।’

बरु हलिउड फिल्म सुटिङमा खर्च गरौंः केदार घिमिरे

‘नेपाली चलचित्रको सुटिङ गर्न स्टुडियो नबनाउने, नेपाली कलाकारको मृत्यु हुँदा पैसा उठाएर अन्त्येष्टि गर्नुपर्ने, तर विदेशी कलाकार पुरस्कृत हुने गरी सरकारले ठूलो रकम खर्च गर्ने निर्णय गर्नु मलाई ठीक लागेन । पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्छ भन्ने कुरा जुन सुनेको छु त्यसका लागि नेपालको पूर्वाधार नै ठीक हुनुपर्छ । काठमाडौंको धुलो व्यवस्थापन गर्न नसक्ने अनि पर्यटक बोलाउन खोजेर हुँदैन । एउटा पर्यटक काठमाडौंको बीचसडकमा बसेर माक्स लगाएर ‘यहाँ त कत्ति धेरै धुलो’ भनेर फेसबुकमा फोटो हाल्दा कस्तो नकारात्मक सन्देश फैलिन्छ ? त्यो बुझ्नु जरुरी छ । 

अर्को कुरा पर्यटन प्रवद्र्धनमा जोड दिन खोजिएकै हो भने विदेशी अवार्डमा ठूलो रकम खर्च गर्नुभन्दा बरु कुनै हलिउड चलचित्र नेपालमा सुटिङ गरियोस् जुन नेपालका लुम्बिनी, सगरमाथा जस्ता ठाउँको प्रमोट होस् जसलाई विश्वले चिनोस् । त्यस्ता फिल्मलाई बरु २० करोड नै दिऊँ त्यो फाइदा हुन्छ ।’

पहिले नेपाली फिल्ममा खर्च गरौंः रेजिना उप्रेती

‘नेपाली फिल्मको यस्तो अवस्थामा विदेशी फिल्मको कार्यक्रममा पैसा दिनु गलत हो । नेपाल सरकारले यो काम गर्नै नहुने भनेको होइन तर समय यो होइन जस्तो लाग्छ । किनकि अहिले नेपाली फिल्मको अवस्था यस्तो छ कि कुनै कलाकारको मृत्यु हुँदा सबैसँग पैसा उठाउनुपर्ने अवस्था छ । एउटा फिल्म सुटिङ गर्ने स्टुडियो छैन । यस्तो अवस्थामा नेपाली जनताले तिरेको करको बजेट विदेशी फिल्मका लागि छुट्टाउने राम्रो कुरा होइन ।’

गरिब मुलुकले धेरै खर्च नगरौंः लय संग्रौला

‘अहिले नै सरकारले यति खर्च गर्ने भन्ने निर्णय भइसकेको त छैन तर ४०औं करोड खर्च गर्ने भन्ने कुरा सरकारको निर्माण नै हो भने यो राम्रो होइन । किनकि हाम्रो सानो मुलुकले यति ठूलो बजेट विदेशी फिल्म कार्यक्रमका लागि खर्च गरेर फाइदा देखिँदैन । केही रकम खर्च गरौं अवार्ड कार्यक्रम गरौं ।’