साँच्चै, केले नदिएको ?

सत्तारुढ नेकपाले शनिबार आफ्ना दिवंगत नेता मदन भण्डारीको ६८औँ जयन्ती मनायो । मदन खुला राजनीतिमा छोटो समयमा चर्चा र सफलताको शिखरमा पुगे । उनले ‘जनताको बहुदलीय जनवाद’ भन्ने सिद्धान्तमा कम्युनिष्ट पार्टीलाई मुलुकको दोस्रो ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित गराए । त्यही शक्ति आज नेकपा नाममा एकल बहुमतमा बहुदलीय व्यवस्थाको बागडोर सहृमाल्दै छ । मदन भण्डारीको अभिव्यक्तिकला त्यो समयमा अद्वितीय थियो । हजारौँ श्रोतालाई जुरुक्कै उठाउन सक्ने भाषण गर्थे । राजधानीमै दुई ठाउँमा चुनाव जिते । राजनीतिक सफलताको शिखरमै रहेका बेला २६ वर्षअघि एउटा सडक दुर्घटनामा उनको मृत्यु भयो । 

मदन भण्डारीको मृत्यु रहस्यमै छ । साँच्चै सडक दुर्घटना भएको थियो कि दुर्घटना गराइएको थियो ? आजसम्म नसुल्झिएको प्रश्न यही हो । घटनापछि तत्कालीन सरकारले छानविन समिति गठन गरेको थियो । मदनको दल नेकपा एमालेले आफ्नै छानविन समिति बनाएको थियो, जसका संयोजक थिए हालका प्रधानमन्त्री केपी शर्मा ओली । नागरिकस्तरबाट पनि एउटा समिति बनेको थियो । पछिल्ला दुई समितिले आफ्ना प्रतिवेदनमा हत्या भएको भन्ने निष्कर्ष दिए पनि कसले किन गरेको थियो, त्यो भन्न सकेनन् । हत्या नै भएको हो भन्ने धारणा भने आमरूपमै बलियो थियो, आजसम्मै छ ।  

मदनको मृत्युपछि बनेको नेकपा एमालेको सरकारले पनि छानविन गरेन । त्यसपछि एमाले नेताको नेतृत्वमा पटकपटक सरकार बने । एमाले नेकपामा रूपान्तरण भएपछि अहिले दुई तिहाइ बहुमतको सरकार छ । मदनकी धर्मपत्नी दोस्रोपटक राष्ट्रप्रमुखमा पदासीन छिन् तर साँच्चै मदनको मृत्यु किन भएको थियो भन्ने रहस्य खोजी गर्ने कुनै प्रयास भएको छैन । नेताहरूलाई भाषणका लागि सदाबहार विषय भने उपलव्ध छ । जस्तो कि शनिबार नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालले मदनको हत्या नै भएको हो भन्ने आफूलाई लागेको तर दोषी पत्ता लगाउन नसकेको बताए । 

मदनको मृत्युको घटनाका एकमात्र साक्षी थिए अमर लामा । उनी जिउँदो रहुन्जेल रहस्य पत्ता लागेन, लगाउन कुनै प्रयास पनि भएन । एक दिन अचानक दिउँसै लखेटिँदै राजधानीमै उनी मारिए । उनी मारिएपछि मदनको मृत्युको रहस्यको गहिराइ झन् बढ्यो । अमरलाई कसले मा¥यो, किन मारिए, त्यो पनि रहस्यमै छ । आज २६ वर्षपछि सत्तारुढ दलकै एक जना अध्यक्षले ‘हत्यारा पत्ता लगाउन केले दिँदैन’ भन्ने प्रश्न उठाएका छन् । उनले १८ वर्षअघिको दरबार हत्याकण्ड पनि रहस्यमय घटनाका रूपमा जोडेका छन् । साँच्चै यी रहस्य पत्ता लगाउन केले नदिएको होला ? षड्यन्त्रमूलक हत्या होला कि जे रूपमा बाहिर देखिएको छ त्यही होला सरकार ?