अटिजम रोग होइन, यो एउटा अवस्थामात्र हो । यस अवस्थाका बालबालिकाका लागि उपचार होइन सहज सामाजिक जीवन जिउने कला र अवसर मिलाउनु परिवार तथा राज्यको दायित्व हो । वंशाणुगतरूपमै आमाको गर्भबाटै लिएर आउने अवस्था हो अटिजम । हाम्रो समाजमा यस अवस्थाका बालबालिकालाई पूर्वजन्मको पापका रूपमा व्याख्या गरी अपहेलित गरिन्छ, तिरस्कार पनि गरिन्छ । अझ कैयौं परिवारले त यस्ता बालक र तिनको अवस्थालाई घरभित्र लुकाएर राखेका हुन्छन् ।
यो आमाको गर्भदेखि नै मस्तिष्क र शरीरको विकासमा अवरोध आएको अवस्था हो । पूर्वजन्मको पाप होइन । अटिजम हुनुमा बालबालिकाको दोष छैन । कैयौं आमाहरू एक्लै यसको दोषी बनाइएका छन् । यो सामान्यरूपले देखिने अपांगताभन्दा फरक छ । शरीरको कुनै अंगको विकास नहुने वा अंगमा असर पर्ने भएकोले यस अवस्थालाई पनि अपांगताको अवस्था भने मान्न सकिन्छ ।
अटिजम नसाले ठीक काम गर्न नसकेको तथा व्यक्तिको मस्तिष्कको हुनुपर्ने जति विकास नभएको एउटा जटिल अवस्था हो । अर्काे अर्थमा जटिल मानसिक अपांगता हो । यस अवस्थाको व्यक्तिका लागि सामाजिक परिवेश बुझ्न र जीवनमा लागु गर्न कठिन अवस्था खडा हुन्छ । भाषाको विकास पर्याप्त भएको हुँदैन ।
अटिजमका लक्षण :
-१२ महिनाको हुँदासम्म नामले बोलाउँदा कुनै प्रतिक्रिया नदिने
-२४ महिना हुँदासम्म पनि कुनै वाक्य वा शब्द उच्चारण गर्न नसक्ने
-सिधा अनुहार तथा आँखामा हेरेर कुरा नगर्ने
-हाउभाउ तथा इसारा नबुझ्ने, कुनै वस्तु वा सामग्रीमा ध्यान केन्द्रित नहुने
-आफ्नो भावना व्यक्त गर्न नक्सने र अरूको भावना नबुझ्ने
-एक्लै र एकान्तमा बस्न र खेल्न रुचाउने
-कुनै कारणविना उत्तेजित भएर कुरा गर्ने
-ध्यान केन्द्रित गर्न नसक्ने भएकाले कुरा बुझ्नमा समस्या हुने
-डर र जोखिमको अनुमान गर्न नसक्ने
-बोल्न समस्या (रोकिएर बोल्ने, बढी समय लगाएर बोल्ने र एउटै कुरा दोहो¥याउने)
-अरूले छोएको र अँगालो हालेको मन नपराउने
-ठट्टा नबुझ्ने, विनाकारण हाँस्ने, रुने, कराउने र चिन्तित हुने
-आफैँलाई हानी पु¥याउने (टाउको ठोक्ने, आफ्नै गालामा पिट्ने आदि)
-आवजको संकेत नबुझ्ने (रिसाएको, खुशीको, रोएको आदि)
-कुनै एउटा काम दोहो¥याइरहने ः जस्तै पांग्रा घुमाएको घुमायै गर्ने, ढुंगा फालेको फाल्यै गर्ने, घुमेको घुमेयै गर्ने, हात तथा जीउ हल्लाएको हल्लायै गर्ने, आगाडि पछाडि -एकै ठाउँमा हिँड्ने, एउटै रूख तथा ढुंगामा चढ्दै और्लिंदै गर्ने
-एउटै प्रश्न सोधेको सोध्यै गर्ने
-जीवनका दैनिक तलिकामा परिवर्तन भए नयाँ ढंगबाट गर्न नसक्ने (दाँत माझ्ने, मुख धुने, खाना खाने, कपडा लगाउने, स्कूल जाने बाटो आदि तालिका बिग्रनसाथ ती कार्य बिर्सन सक्ने वा गर्नै नचाहने)
अटिजम स्पिक्सका अनुसार २००४ मा १६६ जनामा एक जना बालबालिकालाई अटिजम देखिएको थियो भने २०१४ को पछिल्लो अध्ययनले ६८ जनामा एक जनामा देखिएको छ । मानसिक सुस्तता भएकामध्ये ७० प्रतिशतलाई अटिजम हुनसक्ने सम्भावना हुन्छ । सुस्त बालबालिकाको व्यवहार अटिजम भएकाको जस्तै लागे पनि सबैलाई नहुन पनि सक्छ ।
व्यक्तिअनुसार अटिजमको असर फरक हुने हुँदा सामान्य अटिजम अवस्थाकाले साथीसँग सबैखाले काम गर्न सक्छ भने एउटा वस्तु, विषय तथा काममा निरन्तर लाग्ने हुँदा उनीहरू केही विशेष क्षमताका भएको उदाहरण पनि पर्याप्त छन् । अल्वर्ट आइन्सटाइन, चाल्स डार्बिन, हेनरी क्याब्यन्डिस, इस्टिभ जब्स लगायतका थुप्रै वैज्ञानिक अटिजमको अवस्थाका थिए भनिन्छ । यस अवस्थामा अरूले बोलेका शब्द, वाक्य, इशारा र अनुहारको भावका आधारमा अभिव्यक्त गर्न सक्दैनन् । त्यसैले परिवारिक तथा सामुदायिक गतिविधिबाट सधैँ टाढा हुँदै सामान्य अवस्थाका बालबालिकामा भन्दा फरक हुन पुग्छन् ।
अटिजममा एकै खाले समस्या नहुन पनि सक्छ । अटिजमको अवस्थाका ५० प्रतिशत बालबालिका खुशी देखिँदैनन् । अटिजमको समस्याग्रस्त व्यक्तिमा छारे रोग, सुत्न कठिनाइ, रिसाहा एवम् आक्रामकदेखि मानसिक सुस्तता पनि देखिन सक्छ । यस्ता बालबालिका धेरै संवेदनशील हुने हुँदा हामीलाई सामान्य लागिरहेका कुनै आवाज, गन्ध वा छ्ुवाइ उनीहरूलाई नराम्रो पनि लाग्न सक्छ । यसबेला उनीहरू निकै जिद्दीवाल हुने अरूबाट टाढा हुन खोज्ने हुन्छन् ।
हाम्रो समाजका धेरैलाई बालबालिकाको यो अवस्था के कारणले र किन हुन्छ भन्ने जानकारी छैन । उनीहरूका लागि के र कस्ता सेवा सुविधा उपलब्ध गराउने भन्ने बारेमा थाहा नभएकै कारण बालबालिका र परिवारजनले पीडा भोगिरहेका छन् । केही अभिभावकले परम्परावादी सोचका कारण आफ्नो इज्जतसँग जोडेर बालबालिलाई थुनेर राखेका घटना पनि छन् । अटिजमको अवस्थामा रकहेका बालबालिका संवाद तथा सञ्चारमा समस्या भएका कारण परिवार तथा समाजबाट हेपिने हुँदा सामाजिक तथा व्यक्तिगत सम्बन्धमा समस्या हुन पुगेको छ ।
उनीहरूको विकासमा स्वतः असर परेको हुन्छ । विद्यालय शिक्षा र सिकाइमा अवरोध भइरहेको हुन्छ । स्वतन्त्ररूपमा सामान्य जीवनयापनमा समस्या हुन्छ । सामाजिक तथा सांस्कृतिक सम्बन्धबाट टाढा हुन्छन् । उनीहरू परिवारमा दवाव, हिंसा, दुव्र्यवहार र तिरस्कारको साथै विभेदका सिकार भएका हुन्छन् । रोजगारी र दैनिक जीवन यापनमा समस्या हुन्छ ।
हरेक बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षणका साथै विनाभेदभाव स्वतन्त्र भएर बाँच्न पाउने नैसर्गिक र मौलिक अधिकार हो । विशेष अवस्थाका बालबालिकाले सकारात्मकताका साथ आआफ्नो क्षमताअनुसारका विकास गर्ने र बाँच्ने आधिकार संविधानले दिएको छ । यस्तो व्यवस्था गर्नु अभिभावक र राज्यको दायित्व हो ।
स्पिच ल्यांग्वेज प्याथोलोजिष्ट एवम अटिजम पुनस्र्थापना तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. रश्मि रञ्जनका अनुसार अटिजमको उपचार हुँदैन किनभने यो रोग होइन । उनीहरूलाई पारिवारिक तथा सामाजिक गतिविधिमा सहज र सक्षम बनाउनु पर्छ । त्यसैका लागि तयार गर्ने हो । परिवारले विशेषज्ञको सहायतामा उनीहरूको आवश्यकताअनुसार बोल्ने थेरापी, शारीरिक थेरापी तथा सामाजिक गतिविधि र जीविकोपार्जनका लागि सीप सिकाएर सहज जीवनयापन गर्न सक्षम बनाउने हो ।
जब बालबालिकाको उमेरअनुसारको शारीरिक, मानसिक र बौद्धिक विकास हुँदैन तक तुरुन्तै बालरोग विषेशज्ञलाई देखाउनुपर्छ । अभिभावक आफ्ना छोराछोरीको अवस्था र उनीहरूको व्यवहारबारे जानकार छन् भने राम्रो हो । नभए समाजका सचेत नगरिकसँग छलफल गरी समस्या समाधनका लागि सम्बन्धित ठाउँमा जानुपर्छ । यस्ता विषय लुकाउनु उनीहरूको जीवन बर्वाद गर्नु हो, परिवार पीडामा बाँच्नु हो । विशेषज्ञको सल्लाहअनुसार नियमितरूपमा थेरापी गराए अटिजमको अवस्थाका बालबालिकाको जीवन सहज हुनसक्छ । उनीहरू जीवनोपयोगी सीप सिकेर आत्मनिर्भर हुन सक्छन् ।
अटिजम भएकालाई उनीहरूको जुन अवस्था छ त्यसैअनुसार समाजमा सजिलोसँग जिउन सक्ने बनाउने हो । जब अभिभावकले बालबालिकाको अवस्था स्वीकार्छन् त्यसपछि उनीहरूको र आवश्यकताअनुसार जीवन सहज बनाउन आवश्यक उपाय गरेर आत्मनिर्भर वा सहज बनाउन सधैँ तत्पर हुनेछन् । उनीहरू आफैँ आत्मनिर्भर मात्र होइन, परिवारका लागि सहयोगी पनि बन्न सक्षम हुनेछन् ।
हाल हाम्रा सहरमा अटिजम तथा सुस्त मनस्थितिका बालबालिकाको लागि विज्ञ डाक्टर, बालबालिकाका लागि मनोविमर्शदाता, थेरापिस्ट, डे केयर सेन्टर, पुनस्र्थापना केन्द्र र सीप सिकाइ केन्द्र सञ्चालनमा छन् ।
वंशानुगत रूपमै आमाको गर्भबाट शारीरिक र मानसिक विकासमै रोकावट भएर जन्मेका बालबालिकालाई अझ थप स्रोत र समय खर्च गर्नुपर्ने हुन्छ । हाम्रो परम्परावादी सामाजिक सोच र धारणाले विशेष ध्यान र सहयोग दिनुपर्ने अवस्थाका बालबालिकालाई तिरस्कार, परित्याग, हिंसा र विभेद गर्दै अपराध गरिरहेको छ । मानसिक, बौद्धिक र शारीरिकरूपमा कमजोर अवस्थाका बालबालिकाको पहिचान गरी उनीहरूको अवस्थाअनुसार जीवन सहज बनाउन आवश्यक थेरापी गराउनुपर्ने हुन्छ ।




















