ललितानिवास जग्गा प्रकरण : अख्तियारले बयानमा बोलायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एउटा सार्वजनिक सूचना जारी गरेर बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गाका विषयमा बयानका लागि ८६ जनालाई बोलाएको छ । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा मालपोत कार्यालय, डिल्लीबजारका कर्मचारीहरू समेतको मिलेमतोमा गैरकानुनीरूपमा व्यक्ति विशेषलाई फिर्ता अनधिकृत व्यक्तिहरूलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूलाई बोलाएको अख्तियारको सूचनामा उल्लेख गरिएको छ । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र उपस्थित हुन भनिएको छ । 

यसरी बोलाइएकामा पूर्वसचिव शारदा त्रिताल संयोजक रहेको छानविन समितिले भूमाफिया भनेर किटान गरेका शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीका परिवार, भाटभटेनी सुपमार्केटका सञ्चालक मीनबहादुर गुरुङको परिवारलगायत छन् । सत्तारूढ नेकपामा महासचिव विष्णु पौडेल पनि लालितानिवासको जग्गा प्रकरणमा मुछिएका छन् । उनका छोरा नवीन पौडेलका नाममा ललितानिवासको आठ आना जग्गा रहेको छ । उक्त जग्गा उमा ढकाल र माधवी सुवेदीका नामबाट २०६१ सालमा नवीनको नाममा पास भएको देखिएको छ । अख्तियारको सूचनामा नवीनको नाम छैन । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार यसअघि नै सम्पर्कमा आइसकेका व्यक्तिहरूको नाम सूचनामा समावेश छैन ।