स्थानीय तहको बजेट प्रस्तुत : महानगरहरूको प्राथमिकता पूर्वाधार विकास

काठमाडौं । अधिकांश स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट (राजस्व र व्ययको अनुमान) पेस गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमा ‘गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

छ वटा महानगरको कुल बजेट ३९ अर्ब, ६६ करोड, ९४ लाख रुपैयाँ रहेको छ । सबैभन्दा बढी बजेट काठमाडौं महानगरपालिकाको छ भने सबैभन्दा कम भरतपुर महानगरपालिकाको छ । चालु आर्थिक वर्षको तुलनामा वीरगन्जबाहेक अन्य महानगरको बजेट वृद्धि भएको छ । वीरगन्जले भने १६ प्रतिशतले बजेट घटाएको छ । सबैभन्दा बढी काठमाडौले १६ प्रतिशतले वृद्धि गरेको छ भने सबैभन्दा कम भरतपुरले करिब १ प्रतिशतले वृद्धि गरेको छ । 

काठमाडौं महानगरपालिकाले १५ अर्ब ५० करोड ७० लाख १२ हजारको बजेट पेस गरेको छ । मंगलबार आयोजित नगरसभामा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बजेट पेस गरिन् । काठमाडौं महानगरले पूर्वाधार सुधार तथा विकासमा ७ अर्ब ४३ करोड ९७ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ । यो रकम बजेटको ५१ दशमलव ७४ प्रतिशत हो । 

तलब, पारिश्रमिक र सुविधा खर्चमा १ अर्ब ४१ करोड ५ लाख र कार्यालय सञ्चालन खर्चमा ५९ करोड ४३ लाख ५० हजार विनियोजन गरिएको छ । बजेट चालू आर्थिक वर्षको तुलनामा  १९ प्रतिशतले बढी रहेको जनाइएको छ । 

ललितपुर महानगरले ५ अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपैयाँको बजेट पेस गरेको छ । चौथा नगरसभामा महानगरका प्रमुख चिरिबाबु महर्जनले बजेट प्रस्तुत गरेका हुन् । 

बजेट प्रस्तुत गर्दै मेयर महर्जनले ललितपुरका सांस्कृतिक सम्पदा संरक्षण र पुनर्निर्माणमा जोड दिने बताए । नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै महानगरभित्र अब बन्ने पूर्वाधार अपांगतामैत्री हुने बताए । नगरपालिकाभित्रका वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियान प्राथमिकतामा रहेको उनले बताए ।  

विराटनगर महानगरपालिकाले ५ अर्ब १२ करोड ३० लाख ९० हजार ५ सय रुपैयाँको बजेट पेस गरेको छ । महानगरकी उपप्रमुख इन्दिरा कार्कीले चौथो नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । 

विराटनगर महानगरले भौतिक पूर्वाधारमा  २ अर्ब ५ करोड ३९ लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम कुल बजेटको ६२ दशमलव ३४ प्रतिशत हो ।  प्रशासनिक खर्चका लागि ६४ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो रकम कुल बजेटको १९ दशमलव ७० प्रतिशत हो । 

पोखरा महानगरपालिकाले ७ अर्ब ५४ लाख रुपैयाँको बजेट नगरसभामा पेस गरेको छ । मंगलबार पाँचांै नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गरेकी हुन् । पोखरा महानगरले पूर्वाधार विकासमा कुल बजेटकोे ३६ प्रतिशत विनियोजन गरेको छ । 

भरतपुर महानगरपालिकाले ३ अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँको बजेट पेस गरेको छ । चौथो नगरसभामा उपप्रमुख पार्वती शाह ठकुरीले बजेट प्रस्तुत गरेकी हुन् । 

भरतपुर महानगरले कुल बजेटको ३५ प्रतिशत पूर्वाधार विकासमा विनियोजन गरेको छ । भरतपुरलाई स्मार्ट र समृद्ध बनाउन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, महानगरीय बहुउद्देश्यीय सभाहल एवं व्यापारिक भवन निर्माण, बहुतले प्रशासनिक भवन, नारायणी नदीमा सी बिच मोडल लगायतका कार्यक्रम अघि सारिएको छ । 

वीरगन्ज महानगरपालिकाले ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार ८७९ रुपैयाँको बजेट  प्रस्तुत गरेको छ ।  महानगर प्रमुख विजयकुमार सरावगीले पाँचौ नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । पुँजीगततर्फ ३ अर्ब ३ करोड ८९ लाख ११ हजार, चालुतर्फ १ अर्ब ३८ करोड २४ लाख ३७ हजार र वित्तीय व्यवस्थापनतर्फ ६ करोड रुपैयाँ विनियोजन गरिएको छ । कुल बजेटमध्ये पूर्वाधार विकासमा २ अर्ब ९४ करोड २८ लाख ५८ हजार रुपैयाँ विनियोजन गरिएको छ । कार्यालय सञ्चलनतर्फ ७६ करोड ३४ लाख ६८ हजार विनियोजन गरिएको छ ।

सबै नगरपालिकाको बजेटको स्रोत आन्तरिक, राजस्व बाँडफाँटबाट,  संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान, संघीय सरकारको ससर्त अनुदान, नेपाल सरकारबाट प्राप्त हुने समपूरक र विशेष अनुदान,  वैदेशिक र विभिन्न संघसंस्थाबाट प्राप्त हुने अनुदान, नगर विकास कोषको ऋण सहयोगलगायत रहेका छन् ।  देशभर ७५३ स्थानीय तह छन् ।