्काठमाडौं । गुठीसम्बन्धी विधेयकको विरोधमा बुधबार राजधानी काठमाडौंमा विशाल प्रदर्शन र खबरदारी सभा भएको छ ।
माइतीघर मण्डला परिसरमा भएको प्रदर्शन र सभाले सरकारले फिर्ता लिएको गुठी सम्बन्धी विधेयक खारेज हुनुपर्ने माग गरेको छ । मंगलबार अपराहृन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी गराएकी थिइन् ।
बुधबार बिहानैदेखि माइतीघर मण्डला परिसरमा सभाको तयारी गरिएको थियो । बिहानको ११ बज्दा नबज्दै मानिसहरु मण्डलामा जम्मा हुन थालेका थिए । मण्डलाका चारैतिरबाट हातहातमा राष्ट्रिय झण्डा बोकेर नेवारी भेषभुषा र बाजागाजासहित आएका मानिसहरूले छिनभरमै माइतीघर मण्डला भरिएको थियो । मानवसागरलाई कुनै पनि राजनीतिक दलले नेतृत्व गरेका थिएनन् । उनीहरू स्वतःस्फूर्तरूपमा गुठी विधेयक खारेजीको माग गर्दै उपत्यकाका विभिन्न स्थानबाट भेला भएका थिए ।
केही दिनअघि सोही स्थानमा सानो समूहले गुठी विधेयक फिर्ताको माग गर्दा प्रहरीले पानीको फोहोरा र लाठी बर्साएर दमन गरेको थियो । त्यही ठाउँमा बुधबार उनीहरूले गुठी विधेयक फिर्ता मात्र नभई पूर्णरूपमा खारेजीको माग गर्दै आफ्नो शक्ति प्रदर्शन गरे ।
उनीहरूले गुठी विधेयकको खारेजी माग गरिएका प्लाकार्ड बोकेका थिए । कीर्तिपुर र ललितपुरको बज्रबाराहीबाट लाखे नाचसहितको समूह आएका थिए । अन्य विभिन्न स्थानबाट आएका समूहले धिमे बाजालगायत सांस्कृतिक कलाका माध्यमबाट विरोध गरेका थिए ।
सरकारप्रति निकै आक्रोशित देखिएका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली, भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र गृहमन्त्री रामबहादुर थापाको राजीनामाको मागेका थिए । सञ्चारमन्त्री बाँस्कोटाले गुठियारहरूलाई ‘सामन्ती’ को संज्ञा दिएकोप्रति रुष्ट गुठियारहरू उनलाई ‘सामसुमको आइफोन’ बोक्ने मन्त्री भन्दै टिप्पणी गरिरहेका थिए ।
टन्टलापुर घामको परवाह नगरी जुलुसमा सहभागीहरूको तिर्खा मेटाउन ठाउँठाउँमा पानी वितरण भइरहेको थियो । थापाथली चोकदेखि माइतीघर मण्डलासम्म मिनी ट्रकबाट पानी वितरण भइरहेको थियो ।
करिब चार घण्टा चलेको प्रदर्शन र सभापछि माइतीघर मण्डलामा उर्लिएको मानवसागर विस्तारै पातलिँदै गएको थियो । प्रदर्शनकारीको एक समूह सरसफाइमा जुट्यो । हातमा सेतो पञ्जा लगाएका उनीहरूले प्रदर्शनस्थलमा जथाभावी छरिएका पानीका बोतल र कागज संकलन गरेका थिए । प्रदर्शनका क्रममा माइतीघरमा थुप्रिएको फोहोर सफा गरेर गुठी विधेयकविरुद्धको खबरदारीसभा सम्पन्न भएको थियो ।
गुठी विधेयकविरुद्धको खबरदारीसभामा आन्दोलनको नेतृत्व गरेका नेवार समुदायका विभिन्न संस्थाका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए । उनीहरूले नेवार समुदायका सम्पदा, संस्कृतिलाई चलाउनुअघि सोचविचार गर्नुपर्ने भन्दै गुठी विधेयक फिर्ता मात्र नभएर खारेज नै गर्नुपर्ने माग गरेका थिए । उनीहरूले विभिन्न कारणले छिन्नभिन्न भएका नेवार समुदायका मानिसहरूलाई गुठी विधेयक ल्याएर एकजुट हुने अवसर जुराएको भन्दै सरकारलाई धन्यवादसमेत दिएका थिए ।
गुठी विधेयक खारेजीको माग गर्दै स्वतःस्फूर्तरूपमा उर्लिएको प्रदर्शनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै विवेकशील पार्टी, साझा विवेकशील पार्टीलगायतका नेता–कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति रहेको थियो । माइतीघरको प्रदर्शनमा सहभागी विवेकशील पार्टीका अध्यक्ष उज्ज्वल थापाले आफूहरू राजनीतिज्ञका हैसियतमा नभएर सर्वसाधारण नागरिकको हैसियतमा प्रदर्शनमा सहभागी भएको प्रतिक्रिया दिए ।
गायक योगेश्वर आमात्य सहितको एउटा टोलीले सुरक्षामा खटिएका प्रहरीहरूलाई फूल वितरण गरेको थियो ।
प्रदर्शन र सभाका कारण राजधानीको ट्राफिक अस्तव्यस्त भएको थियो ।




















