काठमाडौं । चालु आर्थिक वर्ष २०७५÷७६ को दश महिनामा कुल वस्तु व्यापारघाटा १९.७ प्रतिशतले बढेर १० अर्ब ९९ अर्ब ६० करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ ।
अघिल्लो वर्षको सोहीअवधिमा सो अनुपात ६.८ प्रतिशत रहेको थियो । नेपाल राष्ट बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको साउनदेखि वैशाखसम्मको तथ्यांकअनुसार कुल वस्तु आयात १९.६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १७.२ प्रतिशत, चीनबाट भएको आयात ३३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाइजहाज तथा पार्टपूर्जा, एमएस बिलेट, अन्य मेसिनरी तथा पार्टपूर्जालगायतको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपूर्जा, यातायातका साधन तथा पार्टपूर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजारलगायतकोवस्तुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरू बाहेक अन्य मुख्य भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सबै नाकाहरूबाट भएको आयातमा वृद्धि भएको छ ।
त्यस्तै कुल वस्तु निर्यात १८.१ प्रतिशतले वृद्धि भई ७८ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ३१.९ प्रतिशत र अन्य मुलुकतर्फ २.३ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फ भने २९ प्रतिशतले निर्यातमा कमी आएको छ ।
वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, जस्तापाता, ऊनी गलैंचा, जडीबुटीलगायतको निर्यात बढेको छ भने अलैँची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, पश्मिनालगायतको निर्यात घटेको छ ।
विदेशी मुद्राको सञ्चिति घट्यो
२०७५ असारसम्म विदेशी मुद्राको सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा २०७६ वैशाख मसान्तमा १० खर्ब ६० अर्ब ७० करोडमा झरेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ वैशाख मसान्तमा ९ अर्ब ४२ करोड छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा वैशाख मसान्तमा ९ खर्ब १५ अर्ब ३९ करोडमा झरेको छ । राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थामा भने यस्तो सञ्चिति असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रहेकोमा वैशाख मसान्तमा १ खर्ब ४५ अर्ब ३१ करोड छ ।
भारतीय मुद्राको अंश भने २३.६ प्रतिशत छ । बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.१ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट बैंकले जनाएको छ ।
रेमिट्यान्स बढ्यो
चालु आवको १० महिनामा रेमिट्यान्स आप्रवाह १९.६ प्रतिशतले वृद्धि भई ७ खर्ब २५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १०.३ प्रतिशतले बढेको थियो । तर अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.२ प्रतिशतले घटेको थियो ।
मूल्यवृद्धि ५.३ प्रतिशत
चालु आवको बैशाख महिनामा वार्षिक विन्दुगत मूल्यवृद्धि ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४.१ प्रतिशत थियो । खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धिदर ४.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यो दर ३.२ प्रतिशत थियो । गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि भने ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिम ४.८ प्रतिशत रहेको थियो । हिमालमा ६.१ प्रतिशत, काठमाडौं उपत्यकामा ६.०५ प्रतिशत, पहाडमा ५.० प्रतिशत र तराईमा ४.९ प्रतिशत मूल्यवृद्धिदर छ ।
अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ६.३ प्रतिशत, ३.३ प्रतिशत, ५.७ प्रतिशत र ४.० प्रतिशत थियो । नेपालको मूल्यवृद्धिदर ५.३ प्रतिशत र भारतको ३.१ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ४.१ प्रतिशत र ४.९ प्रतिशत थियो ।



















