सानोमनमा आयुष्मान र शिल्पाको प्रेम

काठमाडौं । यही असार २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सानो मन’मा नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केको प्रेम देखाइएको छ । केही दिन अघि सार्वजनिक ट्रेलरमा यो जोडीको प्रेम उतारिएको छ । प्रेम र रोमान्सले भरिएको ट्रेलरमा आयुष्मान र शिल्पा मास्केको प्रेममा आउने उचारचढाबलाई प्रस्तुत गरिएको छ । 

यो चलचित्रको यसअघि सार्वजनिक भएको फिल्ममा समावेश ‘रानु कम्मर’ बोलको गीतले चर्चा बटुल्दै गर्दा यो ट्रेलर आएको हो । यसले पनि चर्चा पाउने विश्वास निर्माण पक्षले लिएको छ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायत कलाकारको अभिनय छ । यो चलचित्र सुयोग गुरुङको डेब्यु निर्देशनमा तयार भएको हो । यस चलचित्रको ट्रेलरबाट लभस्टोरी चलचित्र रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त छनोट हुनसक्ने विश्वास निर्माण पक्षको छ । 

चलचित्रको एक गीत थाइल्याण्डको पतायाको समुद्री किनारमा खिचिएको छ । काठमाडौं, भैरहवालगायत ठाउँमा छायांकन भएको यस चलचित्रका निर्माता योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धर हुन् । ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा चलचित्र बनेको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समीर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेको चलचित्र आलोक शुक्लाले खिचेका हुन् ।