नयाँदिल्ली । लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएको भाइरल संक्रमणका कारण भारतको विहार राज्यमा एक सयभन्दा धेरै बालबालिकाको ज्यान गएको स्वास्थ्य अधिकारीले बताएका छन् ।
ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएका हुन् । केही अमेरिकी अनुसन्धानकर्ताले सो भाइरस तथा लिचीमा पाइने एक किसिमको विषालु तŒवबीच सम्बन्ध हुनसक्ने जनाएका छन् । बिहारको मुजफ्फरपुर शहरमा गएको १७ दिनमा मस्तिष्कज्वरोको साथ एइएसको कारण ९३ जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।
केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आइतबार उक्त क्षेत्रको अस्पतालको भ्रमण गरेका थिए । ती घटनाका कारण के हुन् भन्नेबारे विशेषज्ञका माझ एक मत छैन ।
कतिपय विशेषज्ञ भन्छन् कि खाली पेटमा लिची खाँदा शरीरमा ग्लुकोजको कमी हुन जान्छ जसले गर्दा बालबालिका यो रोगको चपेटामा पर्न सक्छन् । सन् २०१४ मा पनि मुजफ्फरपुरमा १२२ बालबालिकाको ज्यान गएको थियो । भारत तथा अमेरिकाका वैज्ञानिकले मिलेर यी मृत्युका कारण पत्ता लगाउने कोसिस गरेका थिए ।
उनीहरूको संयुक्त शोधमा खाली पेट धेरै लिची खाँदा यो बिमारी भएको भन्ने उल्लेख छ । वैज्ञानिकका अनुसार लिचीमा हाइपोग्लिसिन ए र मिथाइल एन्साइक्लोप्रोपाइल्गिसिन नामको विषालु तŒव पनि पाइन्छ ।
अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकाको रगत र पिसाबको जाँच गर्दा तिनमा ती तŒव पाइएको थियो । अधिकांश बालबालिकाले राति केही नखाएको र बिहानै धेरै लिची खाएको पाइएको थियो । त्यस्तो अवस्थामा उक्त तत्वले ज्यादा घातक असर गर्ने ठानिन्छ । पहिलेदेखि नै कुपोषणले ग्रस्त वा बिरामी बालबालिकामा लिची खाँदा यो रोग लाग्ने धेरै खतरा हुन्छ । चिकित्सकले सो क्षेत्रका बालबालिकालाई सीमित मात्रामा मात्र लिची खान तथा त्योभन्दा अगाडि सन्तुलित भोजन गर्न सल्लाह दिएका छन् । भारत सरकारले पनि यसबारे एउटा निर्देशिका जारी गरेको छ ।
यसैबीच भारत सरकारले इन्सेफ्लाइटिसको महामारीबाट १ सय जनाभन्दा बढी बालबालिकाको ज्यान गएपछि भारत सरकारले करिब १ सयजना स्वास्थ्य अधिकारी विहारको उक्त प्रभावित क्षेत्रमा पठाएको छ । भारतीय पूर्वी राज्य विहारहको मुजफ्फरपुर जिल्लामा इन्सेफ्लाइटिसको प्रकोप बढेको हो । उक्त जिल्लामा मात्र यस प्रकोपबाट १ सय जनाभन्दा बढी बालबालिकाको ज्यान गएको बताइएको छ । त्यहाँको राज्य सरकारलाई औषधि उपचारका साथै रोगजन्य विषयमा आवश्यक सहयोग र अनुसन्धान गर्नका लागि उक्त उच्चस्तरीय टोली त्यसतर्फ पठाएको बताइएको छ ।
विहार सरकारको स्वस्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उक्त महामारीको नियन्त्रणका लागि भारतको केन्द्रीय सरकारले बिहारको उक्त जिल्लाका विभिन्न स्थानमा अत्यधुनिक प्रयोगशाला पनि राखेको छ । उक्त मन्त्रालयले पछिल्लो समयमा बिहारका अरू जिल्लामा पनि यस प्रकोपको खतरा बढ्दै जाने आशंका उत्पन्न भइरहेकोले अरू जिल्लामा पनि यस्तो खालको प्रयोगशाला राख्ने जानकारी गराएको बतायो ।




















