काठमाडौं । नेपाली मौलिक गायक रियालिटी शो ‘आइएमई नेपाल लोक स्टार’ यही असारको १२ गतेबाट एपिवान टेलिभिजनबाट प्रशारण हुँदैछ । चाहना मिडियाको उत्पादनमा प्रशारण हुने यो कार्यक्रमको चर्चा बढिरहेको छ । अन्तर्राष्ट्रिस्तरम ख्याति कमाएका रियालिटी शो नेपालमा आएर लोकप्रिय बनेको बेला नेपाली मौलिक लोकगीतलाई केन्द्रित गरेर यो लोक स्टार गायन रियालिटी शोको सुरुवात गरिएको छ ।
सातै प्रदेशमा अडिशन गरिएको यो प्रतियोगिताको लागतमात्र करिब १० करोड रहेको चाहना मिडियाका निर्देशक सहदेव कोइरालाले जानकारी दिएका छन् । यसका साथै मंगलबार काठमाडौंका अन्नपूर्ण होटलमा मुख्य प्रायोजकसँगको हस्ताक्षर कार्यक्रममा चाहना मिडियाका सहदेवले मुख्य जज् (निर्णायक)हरूको पारिश्रमिक खुलाएका छन् ।
उनले जजहरूसँग एक वर्षका लागि ‘आइएमई नेपाल लोक स्टार’सँग सम्झौता भएको बताए । ‘हामीसँग जोडिनुभएको जजहरूले बाहिर एक वर्षसम्म जति कमाउनुहुन्छ त्यो भन्दा कम दिनेकुरा पक्कै हुँदैन । एकजनाले यतिनै कमाउनुहुन्छ नभनौं जे होस् चारैजनाको एक वर्षको हिसाब गर्दा ५५ देखि ६० लाख पुग्छ’, सहदेवले हिमालय टाइम्ससँग कुरा गर्दै भन्छन्, ‘हामीले जजलाई सन्तुष्ट बनाएका छौं ।’
सहदेवले जजहरू छनौटमा पनि धेरै ध्यान दिएको बताए । उनले कतिपय कुरामा जज छनौट गर्दा प्रस्तुतिसँगै वाचन कलाको ज्ञान पनि भएको हुनुपर्ने बताए । उनी भन्छन्, ‘जज छनौट गर्दा हामीले धेरै कुरामा ध्यान दिनुपर्छ । स्टेजमा प्रतियोगीले गाउँदै गर्दा निर्णय गर्ने शैली, वाचन शैलीहरूको कुरा हुन्छ । छनौट गरेका जज सबै कुरामा सक्षम हुनुहुन्छ ।’
प्रायोजक संस्थासँगको हस्ताक्षर कार्यक्रममा आइएमई रेमिट्न्यस कम्पनीका सिइओ सुमन पोखरेलले नेपाल लोक स्टारसँग जोडिन पाउँदा खुशी लागेको बताए । साथै आइएमई पे मोबाइल वालेटलाई पनि लोक स्टारसँग जोडिदा दुवै पक्षलाई फाइदा पुगेको बताए । यस्तै बजार प्रबद्र्धकको जिम्मा लिएका संस्था एड प्याडका सिइओ सुदीप थापाले नेपाल लोक स्टारलाई शुभकामना दिए ।
कार्यक्रममा १५ मिनेटको प्रोमो देखाइएको थियो । जसमा जज अडिशन राउण्डमा सहभागी जनाएका प्रतिस्पर्धीको छोटो क्लिप देखाइएको थियो । ओपन अडिशन गएको फागुन १६ देखि चैत २५ सम्म चलेको थियो । यस्तै त्यसपछि जज अडिशनबाट छनौट भएका ३ सय ५० प्रतिस्पर्धीलाई प्रदेशअनुसार जज अडिशनमा सहभागी गराइएको थियो । जज अडिशनबाट १ सय ९ प्रतिस्पर्धी छनौट भई मेघा अडिशनमा प्रवेश गरेको बताइएको छ ।




















