काठमाडौं । कर्णालीको हुम्ला जिल्लामा यात्रुबाहक जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित कम्तीमा १० जना बेपत्ता भएका छन् ।
लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप जिप हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना भन्ने ठाउँमा मंगलबार अपराहृन सडकबाट करिब ४० मिटर तल कर्णाली नदीमा खसेको हो ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको प्रमाणित भएको छ । यसैगरी, खार्पुनाथ गाउँपालिका–१ काकौर कामी र उनका दुई वर्षका छोरा बेपत्ता भएका छन् । दुर्घटनामा वेल्डिङको काम गर्ने एकजना मिस्त्रीसमेत परेका छन् । उनको परिचय खुल्न सकेको छैन । जिपमा कति यात्रु थिए भन्ने खुल्न बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार जिप नदीमा खसेको घटनास्थल सदरमुकाम सिमिकोटबाट करिब १५ किलोमिटर टाढा पर्छ ।
जिप नदीमा बेपत्ता भएको र खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । दुर्घटना चालकको लापरबाहीले भएको हुनसक्ने प्रहरीको आशंका छ । चालकको सट्टा अर्को व्यक्तिले गाडी चलाएको अनुमान प्रहरीको छ । चिसो र धमिलो पानी भएकाले उद्धारमा कठिनाइ भएको बताइएको छ । अपराहृन करिब पौने एक बजे भएको दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्ताहरू घटनास्थलमा पुगेका थिए ।
दुर्घटनास्थलमा चारवटा हेलिकप्टर पनि पुगेका थिए । नदीमा डुबेको जिपको खोजीकार्य जारी राखिएको भए पनि राति अबेरसम्म केही पत्ता लाग्न नसकेको हुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
सुदूरपश्चिम बझाङमा सोमबार एउटा यात्रुबाहक जिप भीरबाट खस्दा १० जनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए ।




















