अध्यात्म चिन्तन र मानव शरीर

सडकमा, गौशाला, गोठ, वृक्षमुनि, हरियाली वनस्पतिका बीच, अन्नबाली झुलिरहेको खेत नदीमा फोहोर गरियो भने स्नान गरेर, गायत्री मन्त्र थप जप गरेर, देवता र पितृका नाममा तर्पण गरेरमात्र शुद्ध हुन्छ मानव । अध्यात्म चिन्तन विज्ञानको यसले सम्पूर्ण मानव जीवन र मानव जगतलाई प्रदूषणरहित वातावरणमा हुर्कन प्रेरित गर्छ । प्रदूषण पाप हो । 

बैंगलोर सहरमा पुग्दा पंक्तिकारले ‘सडकमे थुक्ना मना है’ भन्ने संकेत लेखिएको पाएको छ । त्यहाँ मेरा एकजना सहयात्रीले ट्रेनभित्रै चुरोट पिएछन्, अलिपछि थाहा भयो उनले दुई सय रुपैयाँको जरिवाना टिकट काटिसकेछन् । सार्वजनिकस्थलमा चुरोट पिउन हुँदैन भन्छौँ हामी तर अस्पतालमा रहको डाक्टर र कार्यालयमा रहेका हाकिमहरूले सिटमै धुम्रपान गरिरहेको देखिएको छ । प्रदूषण धेरै प्रकारका हुन्छन् । ध्वनि, वायु, जल आदि । प्रदूषण भनेकै पाप हो । 

भोजन गर्दा अर्काको अन्नमा दोष दृष्टि राख्नु हुँदैन । यो मनको प्रदूषण हो, अन्नमा दोष देख्नु हुँदैन । अन्न भगवानको स्वरूप हो । अन्नमा दोष देख्नेले सर्जक भगवानलाई दोष देखेको हुन्छ । घरमा खाना बनाउँदा अतिथि, कुटुम्व र सेवकका लागि पृथक–पृथक तरिकाले बनाउनु हुँदैन । अतिथि, सदाचारी, मान्यजनलाई खुवाएर बाँकी रहेको खाना आहुती गरेर बाँकी रहेको यज्ञ शिष्ट भनौँ चरू समान हुन्छ । 

यो अन्न प्रसाद अमृत समान हुन्छ । पाहुनालाई खुवाएर बाँकी रहेको खाना खानाले परमात्मा स्वरूप भगवत् प्राप्ति हुन्छ । आप्mना लागि मात्र बनाएको सामान, आफ्नो लागि आफैँले पस्किएको खाना पनि सामान्यतया राम्रो मानिँदैन । दाँतले नङ टोक्ने, जुठो हातले अन्य कार्य गर्ने, जुठो मुखले अन्य कार्य गर्नेको आयु क्षीण हुन्छ । 

अभ्यागत, अतिथि, पूज्य, मान्यजन, देवता, उपासक, विद्वान्, सन्यासीलाई दायाँ पारेरमात्र हिँड्ने, यज्ञशाला, चित्र, साँढे, गौशाला, धार्मिक व्यक्ति, मन्दिरलाई जहिले पनि दायाँ पारेर हिँड्ने गर्नाले उनीहरूबाट लामो आयुको आशीर्वाद प्राप्त हुन्छ, व्यक्ति निरोगी बन्छ । 

भेटघाटको क्रममा परिचित व्यक्ति जब भेटिन्छ उसका कुशल समाचार के छन् सोध्नु वेश हुन्छ । सुन्नेले सुन्न इच्छा नराखिकन आफ्ना दुःख र दर्द नपोख्नु बेस हुन्छ । समयको अन्तरालमा आफन्तलाई सबै समस्या अवगत हुन्छ नै । 

प्रातः काल र सन्ध्याका समयमा गुरुलाई स्मरण गर्नुपर्ने हुन्छ । गुरु स्मरणले देवता स्मरण हुनजान्छ । देव मन्दिरमा, गाई सेवामा, यज्ञादि कर्ममा शास्त्रअनुसारको स्वाध्याय कार्यमा, भोजन गर्ने गराउने कार्यमा, शारीरिक अवस्थाअनुसार दाहिने हातको कार्य बढी राम्रो हुन्छ । अध्यात्म विश्लेषकहरूका अनुसार एउटै थालबाट दुई वा दुईभन्दा बढीले खना खानु राम्रो मानिँदैन । आफूभन्दा मान्यजनलाई नामले सम्बोधन गर्नु या तँ, तिमी भनेर सम्बोधन गर्नु राम्रो मानिंँदैन । 

मानिसका कार्यहरू प्रकृति स्वरूप देवताले देखिरहेका हुन्छन् –

आदित्य चन्द्रा बनिलो नलश्च, 

धौ भूमिरापो हुदयं यमश्च

अहश्च रात्रिश्च उभे च सन्ध्ये धर्मश्च जानाति नरस्य वृत्तिम्

मानिसका सबै कार्यको लेखाजोखा सूर्यले गरेका हुन्छन् दिनमा । रातमा चन्द्रमाले । अग्निले, वायुले, भूमिले, जलले, आकाशले, दिउँसोले, रात्रिले, सन्ध्याले, बिहानीले, यमराजले, धर्मराजले र अन्ततः मानिसको हृदय स्वयंले । अतएव दृष्प्रवृत्तिहरूलाई लुकाउने ठाउँ र समय कहीँ छैन । कानुनको दृष्टि टाढा रहे पनि अध्यात्मको ज्याति पूर्ण हृदय टाढा हुँदैन । 

शारीरिक धर्मभन्दा मानसिक धर्म ठूलो हो । सामाजिक चिन्तकहरू त्यसैले भन्ने गर्छन् ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौँ । सेवा नै धर्म हो । सेवा हि परमो धर्मः’ आधुनिक काव्यकारहरू पनि भन्छन्, ‘मलम लगाऊ आर्तहरूको चह¥याइरहेको घाउमा’ । अशक्त, बिरामी, साधु, सज्जन, सन्त, अपांग, असहाय, दीन, दुःखीहरूको सेवामा लागेका तन, मन, धन बढी पवित्र हुन्छ । 

अस्पताल, नर्सिङ सेवा, आकस्मिक सेवा, आगलागीबाट उद्धार, दुर्घटना एवं भूकम्पबाट उद्धार बाढीपीडितलाई भोजन एवं लत्ता, कपडा, औषधि दिनरात महाअनुष्ठानका स्वरूपहरू हुन् । केवल टीका लगाएर दिने वा कुस पानी संकल्प गरेर दिनेमात्र दान होइन । आज जे जति पनि विकसित मुलुकहरू छन् तिनीहरूको सभ्यता यस्तै दानले विकसित गराएको हो । 

माटो, पानी, आकाश, वायु र अग्नि यी पाँच तŒव नै संसार सृष्टि कारक हो । जीव र जगतको उदय र अन्त्य यसैमा हुन्छ । जसरी पानी समुद्रबाट सुरु हुन्छ, समुद्रमै अन्त्य हुन्छ । समुद्रको पानी सूर्य तŒवबाट सोसिन्छ । आकाशमा बादल बनेर फेरि जल वर्षाझँै समुद्र बन्छ, ठीक त्यस्तै सूक्ष्म ब्रहृमाण्ड र विशाल ब्रम्हाण्डको स्रोत भाग यिनै पाँच तŒव छन् र प्रलयका बखत पनि यी पञ्चतन्मात्रामै गएर विलिन हुन्छन् । यी पञ्चतन्मात्रा परमात्माको आनन्द स्वरूप हो । पछि आनन्द स्वरूप भगवान नै विलीन हुन्छन् । प्रलयका अन्त्यमा विशेष भगवानबाहेक केही हुँदैन । 

शरीरका विभिन्न भाग शब्द, श्रोत्र (श्रवण) र छिद्र भाग आकाश तŒव हो । स्पर्श, छाला र चेष्टा वायुको तŒव हो । रूप, नेत्र र पाक तेज तŒव हो । जिभ्रो, रस जलको तŒव हो । गन्ध, नासिका र शरीर भाग पृथ्वी अर्थात् माटो तŒव हो । यस प्रकार शरीर पाँच भागको समिश्रण हो । इन्द्रिय र मन जसले विषयप्रति राग बढाउँछ यो छैठांै तŒव हो भने सातौं तŒव बुद्धि हो । आठौं तŒव आत्मा हो यसलाई क्षेत्रज्ञ भनिन्छ । इन्द्रियले विषय ग्रहण गर्छ, मनले संकल्प र विकल्प गरिदिन्छ । 

बुद्धिले ठीक बेठीक निश्चय गर्छ । सबैको साक्षी स्वरूप चाहिँ आत्मा हो जसलाई क्षेत्रज्ञ भनिएको छ । ज्ञ भनेको ज्ञाता हो । शरीर क्षेत्र हो । शरीरले गरेका कार्यको ज्ञाता आत्मा हो । यो अदृश्य छ त्यो परमात्माको अंश हो । शरीरको अन्त्यपछि आत्म तŒव परमात्मा तŒवमा मिल्छ जसरी घडाको जल घडा फुटेपछि समुद्रमा पुग्छ । सत्व रज र तम तीन गुणले इन्द्रियको आश्रय लिएर कार्य गर्छ । 

मानिसले आफूम भएको बुद्धि बलद्वारा अरूको बुद्धि बलको आश्रय लिएर कर्म गर्छ । त्यसबाट उसले आफूमा शान्ति प्राप्त गर्छ, बुद्धि नै सत्कार्यमा प्रेरित गर्छ, बुद्धि नै कुमार्गमा प्रेरित गर्छ । बुद्धिमा पाँच तŒव छन् । पाँच इन्द्रिय जसलाई भनिन्छ । इन्द्रियका अधीन बुद्धिभन्दा बुद्धिका अधिन इन्द्रियले सत्कर्मगामी बनाउँछ । 

सत्वगुणीलाई बुद्धिद्वारा सुख हुन्छ, रजोगुणी बुद्धिले दुःखी हुन्छ र तमोगुणी बुद्धिले मोहित हुन्छ । शरीर या मनले कुनै प्रसन्नताको बोध भयो भने हर्ष पैदा हुन्छ । मस्तिष्क स्नायुहरूले हर्षको अभिव्यक्ति दिन थाल्दछन् र शरीरमा अन्य अंगहरू त्यसैअनुसार देखिन थाल्छन् । निधारमा चमक, ओठमा लालित्य, अनुहारमा उज्यालोपन शृंगारविना नै अनुहार राम्रो देखिन थाल्छ । सत्वगुणको वृद्धि हुन थाल्यो भने यो चमक स्थायी हुन्छ । यो जीवनको हाँसो पक्ष हो । स्वफूर्त ढंगले हाँसो पैदा हुन्छ । यस बखत जीवन मुस्कुराउन थाल्छ, फूलहरूको रंगीन दृश्यझैँ रंगीन देखिन्छ । 

यसको ठीक उल्टो मानिसमा उदासीनता दुःख, विनाकारण असन्तोष, शोक, सन्ताप, लोभ, आशक्ति, तृष्णा, कुण्ठा, असहनशीलताले जब डेरा जमाउन थाल्छ तिनै नसाका तन्तुहरूले अब नकारात्मक रस छोड्न थाल्छन् । जीवन अाँसुमा परिणत हुन्छ । स्रोत एउटै हो, स्वरूप चाँहि फरक हुन गयो । यसबेला व्यक्तिले व्यक्तिलाई अपमान, घृणा, वैरभाव, प्रमाद, स्वप्न, निंद्रा, आलस्यका गुणहरूले मस्तिष्कमा डेरा जमाउन थाल्दछन् । 

जीवन हाँसो हो, तर गुलाफका फूलभित्र कीरा पनि हुनसक्छन् भने ईश्वरको अनुपम स्वरूप शरीरमा विष तŒव पनि हुन्छन् । यी साथसाथै रहन्छन् । गुण अवगुणलाई वृद्धि तŒवबाट उदय गराउँछ भने आत्माको काम चाहिँ केवल दृश्यावलोकन गर्ने मात्र हुन्छ । आत्माको काम केवल साक्षी स्वरूप हो । संसारमा विज्ञानको जति पनि दुरुपयोग हुन्छ ईश्वर केही भन्दैन, हेरिमात्र रहन्छ ।

आत्मा ठीक त्यस्तै हो शरीर, मन, बुद्धि, इन्द्रियले के के गर्छ हेर्ने मात्र कार्य आत्माबाट हुन्छ । मूल्यांकन गर्ने वा नगर्न प्रेरणा दिने ऊ होइन । संसारी कार्यमा मन नलगाएर आत्म तŒवमा अनुराग राख्दा चाहिँ आत्मतŒवको चिन्तन र मनन हुन जान्छ । जीवन र जगत आवश्यकता हो तर यसभित्र रहेर आत्मबोधप्रति अनुराग बढाउनु चिन्तन, मननको सन्देश हो । हिलो नभई कमल हुँदैन तर कमलमा हिलो टाँस्सिदैन अर्थात् जगत नभई शरीरलाई हुँदैन तर पारमार्थिक तŒवबाट जगतप्रतिको हेराइ उदार बनाउँदा राग घट्छ ईश्वरप्रति अनुराग बढ्छ । 

शरीरमा रहेर पनि आत्मा शरीरप्रति लिप्त हुँदैन । जलचरहरू जलमा रहन्छन् तर जलप्रति लिप्त हुँदैनन् । ज्ञानी व्यक्ति जगतमा रहेर जगदिश्वरप्रति उन्मुख हुन्छ । जगतको रचना जगदिश्वरले गरेको हो । अतएव ऊ आफ्नो मालिकलाई पच्छ्याउँछ । जगत र शरीरप्रति लिप्त नहुनु आत्माको गुण हो । सुख, दुःख, भोक, तिर्खा, आगमन, पुनरागमन, जरा, बुढ्याइँ, शोक, कष्ट, हैरानी सबै शरीरका गुणहरू हुन्, आत्माको होइन । नाता, कुटुम्व, धन, सुख, परिवार, सम्पत्ति पनि शरीरका हुन्, आत्माको होइन । शरीरप्रति यिनको कुनै सरोकार रहँदैन । त्यसर्थ सुख र दुःख अनि लाभ वा हानीमा चित्त बरोबर हुनुपर्ने कारण यही हो । दुःखमा नआत्तिने र सुखमा नमात्तिने भन्ने संकेत पनि यसै कारण हो । 

जीव सबै धर्तीका धरोहर हुन् । आआफ्ना कर्मका कारण नाता र सम्बन्धमा गाँसिन पुग्छन् । कर्मको भोग समाप्त हुँदा नाता पनि समाप्त हुन जान्छ । मैला कपडा साबुन पानीले सफा हुन्छ, मैलो शरीर साबुन पानीले सफा हुन्छ न कि त्यस्तै मनको मैलो, मनको अज्ञानता, मनको भ्रम पनि सत्संगरूपी कारखानाबाट सफा हुन्छ । ज्ञानमयी नदीमा स्नान भनेको सत्संग हो । 

सत्संग यसकारण कारखाना हो कि त्यहाँ भगवानका कथा भनिन्छन्, गुणगान गाइन्छन्, ध्वनि अन्तरंग रूप बगिरहन्छन्, नाद ध्वनि, ताल, सुर, संगीतका लय, शब्द, अलंकार, शैली, धेरैको जमघट, तीर्थस्वरूप सरस्वतीका बाजा, अन्य सर सजावट, मन्त्र, रिचाबाट त्यहाँ शरीरमा भिन्न भिन्न तन्तुलाई हार्मोनाइज्ड गरिएको हुन्छ, गर्ने प्रयास गरिन्छ । हार्मोनियमको अर्थ पनि त्यही हो, सुरबद्ध, तालबद्ध, लयबद्ध, स्वरबद्ध तरिकाले कर्ण रसायन हुँदै एउटा निश्चित बिन्दु बाँध्ने प्रयत्न भइरहेको हुन्छ । छरिएको मन मस्तिष्क एकतृत हुन पुग्छ । पूजा, पाठ, न्यास, ध्यान, योग जे भने पनि अन्ततः शरीरको सुखानुभूति हो ।