भक्तपुर । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा देकोचा, कमलबिनायक र च्याम्हासिंहमा मासु पसल अनुगमन गरिएको छ ।
अनुगमनमा महालक्ष्मी मिट शप बिना दर्ता बधस्थल समेत संचालन गरेको र न्युनटम मापदण्ड समेत नपु¥याई फोहर र अव्यवस्थित तरिकाले संचालन गरेकोले निजको फ्रिज एक थान र डिजिटल तराजु एक थान र बिषादी रिभन एक थान नियन्त्रणमा लिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । पसलमा बिषादी प्रयोग गरेको देखिएकोले बिषादी प्रयोग नगर्न, पसल तीन दिन भित्र दर्ता गर्न, एप्रोन सेतो प्रयोग गर्न, सरसफाईमा ध्यान दिन, पसलको भुईं भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न, फोहर पानी सोक पिट बनाई व्यवस्थित निकासको व्यवस्था गर्न, मल र फोहर जथाभावि बाहिर छरप्रष्ट राखी राखेकोले व्यवस्थित रुपमा व्यवस्थापन गर्न, पसलमा राँगा राख्ने स्थान, हाडखोर जम्मा गर्ने स्थान, मासु काटकुट गर्ने स्थान र बेच्ने स्थान अलग अलग कोठा पार्टेसन गर्न निर्देशन दिइयो ।
विकेश मिट सपले ठुलो, खिया परेको र फोहर टेबुलमा फुटपाथ नै कभर गरी बटुवाहरु आवागमनमा बाधा पर्ने गरी र मासुको फोहर पानी बाटोमा फाल्ने गरेकोले टेबुल नियन्त्रणमा लिइयो ।
कमल बहादुर शाहीको राँगाको मासु पसल फोहर देखिएकोले सरसफाईमा ध्यान दिनु पर्ने, मासु काटकुट गर्ने टेबुल, स्थान र औजार व्यवस्थित र सफा गर्नु पर्ने, मुल्य सुचि राख्नु पर्ने, एप्रोन सेतो प्रयोग गर्नु पर्ने निर्देशन दिइयो ।
न्यू सुभाना कोल्ड स्टोर दर्ता प्रमाणपत्र पसलमा राख्न र दर्ता नभए तीन दिन भित्र दर्ता गर्न, एप्रोन सेतो प्रयोगन गर्न, पसल व्यवस्थित र सरसफाई गर्न, मुल्य सुचित राख्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, मासु धुलो र झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न, लेबल नभएको ससेज चार पाकेट जफत गरियो ।
ग्लोबल कोल्ड स्टोर तीन दिन भित्र दर्ता गर्न नगरेकोले तराजू नियन्त्रण लिइयो भने सेतो एप्रोन प्रयोग गर्न निर्देशन दिइयो ।
भक्तपुर कोल्ड स्टोरमा एप्रोन सेतो प्रयोग गर्न निर्देशन दिइयो ।
च्याम्हासिंह फ्रेस मिट शपमा एप्रोन सेतो प्रयोग गर्न, भुईभित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न र मासु धुलो र झिंगाले भन्किन नदिन जाली प्रयोग गर्न निर्देशन दिइयो ।
तुल्सी नारायण शाहीको मासु पसलको दर्ताको प्रमाण पत्र पसलमा राखी राख्न, एप्रोन सेतो प्रयोग गर्न, मुल्य सुचि राख्न, सरसफाईमा ध्यान दिन, ढक तराजू नापतौल विभागमा नविकरण गर्न, साईन बोर्ड राख्न र मासु धुलो र झिंगाले भन्किन नदिन जाली प्रयोग गर्न निर्देशन दिइयो ।
च्याम्हासिंह मिट सप विग्रेको र कुहेको मासु तीन किलो तीन सय ग्राम जफत गरी एप्रोन सेतो प्रयोग गर्न, मासु धुलो र झिंगाले भन्किन नदिन जाली प्रयोग गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।
अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य हरिराम सुवाल, सदस्य सचिव दिलिप कुमार सुवाल, भनपा श्यानिटेशन उपशाखाका व.नि. रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका नारायण लघु, पशु सेवा शाखा भक्तपुरका उमेशलाल प्रधान, राष्ट्रिय उपभोक्ता मञ्चबाट नारायण राजथला, दिपक बहादुर कार्की, भक्तपुर उद्योग बाणिज्य संघका संजय जोन्छे, महानगरीय प्रहरी प्ररिसरका सुमन लामा र भनपा कर उपशाखाका बिष्णु केशरी जोशीको सहभागी रहेको थियो ।




















