सुधारिएको फलामे चुलो वितरण

खोटाङ । खोटाङमा आर्थिक अवस्था कमजोर भएका दलित घरधुरीहरुलाई सुधारिएको फलामे चुलो वितरण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३९ दलित घरधुरीलाई फलामे चुलो वितरण गरिएको हो । नगरपालिकाभित्र रहेको ९९ दलित घरधुरीमध्ये पहिलो चरण अन्र्तगत ३९ जनालाई चुलो वितरण गरिएको हो । नेपाल सरकार उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा आएको चुलो शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख दीपनारायण रिजालले प्रदान गरे । 

दोश्रो चरणमा ६० जनालाई सोही अनुसारको चुलो प्रदान गरिने दिक्तेलका वडाध्यक्ष टंक प्रसाद आचार्यले जानकारी दिए । नगरपालिकाभित्र रहेका ४ सय ९० दलित घरधुरीमा चुलो पु¥र्याउने योजना रहेको नगरप्रमुख रिजालले बताए । आर्थिक वर्ष २०७६/०७७ को सुरुवातबाट दलित घरधुरीमा सोलार समेत वितरण गरिनेछ । 

यसैगरी ऐंसेलुखर्क गाउँपालिकामा दलित तथा विपन्न वर्गगरी ४ सय ९० घरधुरीहरुलाई सुधारिएको फलामे चुलो वितरण गरिएकोे छ । केही घरधुरीले भने, चुलो लैजान बाँकी छ । नेपाल सरकार उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा शुक्रबार नै प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा १ किलोवाटको सोलार समेत जडान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलालले बताए ।

जालपा मावि बाकाचोल बादेल, माक्पा मावि माक्पा, त्रिभुवन मावि ऐसेलुखर्क, कालिका मावि बाकाचोल, कालिका वालविकस मावि राखावाङदेल, शान्तोदय मावि ज्यामिरेमा २÷२ किलावाटको सोलार जडान गरिएको छ । सिम्ले मावि जलेश्वरी र शिशु मावि महेश्वरीमा यसअघि जडान गरिएको थियो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार जडान भएका विधालयमा कम्प्युटर कक्षा व्यवस्था गरेर गाउँपालिकाले निशुल्क इन्टरनेट जडान गरिदिएको छ ।