‘लेजर स्पिड गन’ बाट गति नियाल्दै

काठमाडौं । काठमाडौंमा  सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको गति निर्धारण गरिएको छ । सडकमा गति मापन गर्न ट्राफिक प्रहरीले ‘लेजर स्पिड गन’ प्रयोग गर्न थालेको छ । प्रहरीले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउनेलाई कारबाही सुरु गरेको छ । 

सवारीसाधनको गति मापन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–कलंकी सडकमा ‘लेजर स्पिड गन’ को प्रयोग गरेको छ । ‘लेजर स्पिड गन’ को प्रयोग सोमबार सुरु भएको हो । हप्तासम्म चालकलाई सवारीसाधनको गतिबारे जानकारी गराएर कारबाही सुरु गरेको महाशाखाको भनाइ छ । 

लेजर स्पिड गन पहिलोपटक प्रयोग गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताए । कोटेश्वर–कलंकी सडकमा बढी दुर्घटना भएकोले सो खण्डमा लेजर स्पिड गनको प्रयोग गरिएको उनले बताए । सापकोटाका अनुसार महाशाखामा अहिले तीनवटा लेजर स्पिड गन प्रयोग गरिएको छ । यसअघि, महाशाखाले ‘राडर स्पिड गन’ को प्रयोग गरेको थियो । अहिले अझ अत्याधुनिक छ ‘लेजर स्पिड गन’ प्रयोग भएको हो । 

लेजर स्पिड गनले सडकमा सवारीसाधनको तस्वीरसँगै सवारीको गति मापन गर्छ  ।  सवारीसाधनको गति उपकरणमा सजिलै देख्न सकिन्छ । गनले १५० मिटरको दूरीसम्मको रेन्जमा गति पत्ता लगाउँछ । प्रवक्ता सापकोटाका अनुसार लेजर स्पिड गन विशेष प्रकारको क्यामेराजडित उपकरण हो । झट्ट हेर्दा दूरबिन जस्तै देखिन्छ । सडकमा खटिने ट्राफिक प्रहरीले त्यसलाई सजिलै प्रयोग गर्न सक्छन् । 

सवारीसाधनले गति मापदण्ड उल्लंघन गरे लेजर गनले देखाएर यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही हुनेछ । कलंकी–कोटेश्वर खण्डमा ५० किमि प्रतिघण्टा गति तोकिएको छ । उल्लंघन गर्नेलाई पाँच सयदेखि २५ सय रुपैयाँसम्म जरिवाना हुनेछ ।