बजार अनुगमन : ठाउँको ठाउँ जरिवाना

काठमाडौं । सरकारले बजार अनुगमनका क्रममा जरिवानाबापत ३१ लाख रुपैयाँभन्दा बढी असुली गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संशोधित उपभोक्ता ऐन २०७५ को कार्यान्वयनसँगै विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानमा कारबाहीबाट उक्त जरिवाना असुली गरेको हो ।

विभागले अधिकांश उद्योग तथा व्यापारिक प्रतिष्ठानबाट ५ हजारदेखि १० हजार रुपैयाँसम्म असुल गरेको छ । संशोधित ऐनले अनुगमन अधिकृतलाई नै कसुरका आधारमा तत्काल जरिवाना असुल्ने अधिकार प्रदान गरेकोले विभागले तत्काल जरिवाना असुली गरेको हो । 

नयाँ ऐनअनुसार मापदण्डभन्दा कम परिमाणमा सामाग्री बिक्री गरेमा २ लाखदेखि ३ लाख रुपैयाँसम्म तत्कालै सम्बन्धित अनुगमन अधिकृतले जरिवाना गर्न पाउने व्यवस्था छ । त्यस्तै, खरिद बिल नराखेमा ५ हजारदेखि २० हजारसम्म, व्यवसाय दर्ता कागजात देखाउन नसकेमा ५० हजारदेखि १ लाखसम्म, मूल्य ढाँटेर बिक्री गरेमा २ लाखदेखि ३० लाख रुपैयाँसम्म जरिवाना लिन सकिनेछ । त्यस्तै, मूल्यसूची नभएमा ५० हजारदेखि १ लाखसम्म रहेको जरिवाना गर्न पाउने व्यवस्था छ ।

विभागले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल ३१ लाख ६५ हजार रुपैयाँ असुली गरेको हो । सबैभन्दा बढी काठमाडौंको दक्षिणकालीस्थित शुभकामना मिनरल वाटर प्रालिबाट ३ लाख जरिवाना असुली गरेको छ । त्यस्तै, काठमाडौंकै हिमालय टेक्नो गियर्स प्रालिबाट २ लाख ५० हजार असुली गरेको छ भन कागेश्वरी मनोहरा नगरपालिकास्थित भद्रकाली आयल स्टोरबाट २ लाख रुपैयाँ असुली गरेको छ । उक्त पेट्रोल पम्पले मापदण्डभन्दा कम परिमाणमा पेटोलियम पदार्थ बिक्री गरेकोले विभागले कारबाही गरेको हो ।

काठमाडांैको कमलपोखरी सिटी सेन्टरस्थित करवी एपारेन्सबाट २ लाख असुली भएको छ । मकवानपुरको हेटांैडास्थित कोसेली गुदपाकबाट २ लाख रुपैयाँ असुली गरेको छ । उक्त उद्योगले अनुचित व्यावसायिक क्रियाकलाप गरेकोमा जरिवाना गरिएको हो । त्यस्तै, काठमाडौंको सुन्धारास्थित फ्रेण्डसिप स्विट चाट रेष्टुरेन्ट एण्ड क्याफेबाट ५० हजार रुपैयाँ असुली गरेको छ । उक्त क्याफेले मूल्यसूचीबिना नै सामान बिक्री गरेकोले कारबाहीमा परेको हो । 

काठमाडौंकै स्टार एसियन मिट प्रोडक्ट प्रालिबाट ५० हजार असुली गरेको छ  भने काठमाडौंकै पिएम आउट फिट्सबाट पनि ५० हजार असुली गरेको छ भने काठमाडौं महाराजगञ्जस्थित सेलवेज एण्ड क्यारीबाट २ लाख असुली गरेको छ ।    

त्यस्तै, धादिङस्थित बाबा देवी सप्लायर्स एण्ड प्रोसेसिङ प्लान्ट प्रालिबाट ५० हजार, धादिङकै न्यु ज्वालामुखी सप्लायर्सबाट ५० हजार, धादिङ टे«ड एण्ड कन्ट्रक्सन कम्पनीबाट ५० हजार, ढोला मण्डली सप्लायर्सबाट ५० हजार, के एन जे कन्ट्रक्सनबाट ५० हजार, दरबारमार्गस्थित बटम टे«डिङबाट ५० हजार, नो क्विष्ट क्रियसनबाट ५० हजार असुली गरेको छ । 

काठमाडौंस्थित नारायणी इम्पोसिसबाट ७५ हजार असुली गरेको छ । विभागले कुल १ सय २० उद्योग तथा व्यापारिक प्रतिष्ठानबाट न्यूनतम ५ हजार, १० हजार, २० हजार, ५० हजार, ७५ हजार, १ लाख, २ लाख, २ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म असुली गरेको विभागले जनाएको छ ।