राष्ट्रिय जागरण अभियानले पार्टीमा उर्जा अभिवृद्धि गर्यो– कांग्रेस

 काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानले पार्टीमा उर्जा अभिवृद्धि गरेको बताएको छ ।

पार्टी सभापति शेरबहबहादुर देउवाद्धारा जारी गरिएको एक प्रेस बक्तव्यमा ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ को प्रथम चरण पार्टीका आम साथीहरुमा नवीन ऊर्जा अभिवृद्धि गर्दै सम्पन्न भएको बताएको हो । 

जारी बक्तव्यमा  देउवाले वैशाख २५ गते प्रारम्भ भई जेठ २५ मा सम्पन्न भएको प्रथम चरणको अभियानप्रति चासो प्रकट गर्दै शुभेच्छा राख्ने स्वदेश र विदेशमा रहेका सबै नेपाली प्रति धन्यवाद दिएका छन् ।

गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्ने सबै केन्द्रीय प्रतिनिधि साथीहरुको क्रियाशीलताको प्रशंसा गर्दै जिल्लाहरुमा कुशल नेतृत्व गर्नु हुने सबै जिल्ला सभापति र जिल्ला समितिहरु, क्षेत्र, गाउँ–नगर समितिदेखि वडा र टोलसम्मका सबैप्रति धन्यवाद दिए ।

उनले विज्ञप्ति मार्फत जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर नेपाली कांग्रेसलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने संकल्प यो घडीमा हाम्रो साझा दायित्व भएको उल्लेख गरेका छन् । 

सभापति देउवाले अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधि विरुद्ध थप जागरण बढाउँदै एकतावद्ध ढंगले कार्य गर्न अपिलसमेत गरेका छन् । 

उनले लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गर्दै संघीयताको सफल कार्यान्वयन गर्न गराउन दवावको प्रभावकारी भूमिका कांग्रेसले निर्वाह गर्ने बक्तव्यमा बताएका छन् । 

जागरण अभियान मार्फत् यो दिशामा प्राप्त ऊर्जालाई पूँजीकृत गर्दै नेपाली कांग्रेस अघि बढ्ने उनको बक्तव्यमा उल्लेख छ ।