पेट्रोलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले बुधबार रातिबाट लागू हुनेगरी पेट्रोलमा मात्रै प्रतिलिटर १ रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै काठमाडौं उपत्यकाभित्र प्रतिलिटर पेट्रोल १ सय १० रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको मूल्यअनुसार १ जुनमा भारतीय आयल कर्पोरेसन (आइओसी)बाट प्राप्त नयाँ मूल्य विगतको तुलनामा केही घटेर आएकोले पेट्रोलियम पदार्थको स्वचालित मूल्यप्रणाली कार्यान्वयन कार्यविधिअनुसार मूल्यसमायोजन गरिएको निगमले जनाएको छ । यसअघि, जेठ १५ गते पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि भएको थियो । बजेटले पेट्रोल र डिजेलमा पूर्वाधार करबापत १ रुपैयाँ थपेपछि मूल्य बढाइएको निगमको भनाइ छ ।  निगमले अन्य पेट्रोलियम पदार्थ डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।