बिनिता बरालले गरिन् प्रेमी तिलकसँग बिहे

काठमाडौं । चलचित्र ‘चपली हाइट’ बाट चर्चामा आएकी नायिका बिनिता बरालले प्रेमी तिलक पौडेलसँग विवाह गरेकी छिन् । पछिल्लो समय दुवैजना अमेरिका बस्दै आएका थिए । तीन वर्षअघि सुरु भएको प्रेम सम्बन्धलाई यी दुईले सोमबार विवाहमा परिवर्तन गरेका हुन् । समारोहको तस्वीर भने उनले बुधबार मात्र सार्वजनिक गरिन् । उनीहरूले अमेरिकाको वेस्ट भभर्जेनियास्थित ‘न्यू वृन्दावन मन्दिरमा’ आफन्तको उपस्थितिबीच विवाह गरेका हुन् । माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत यी दुई नजिकिएका हुन् ।

बिनिताको उपन्यास ‘जुइनो’ विमोचन ताका तिलक र उनको कुराकानी सुरु भएको थियो । दुईजनाको सोच, लक्ष्य र भावना मिलेपछि दुईले प्रेम प्रस्तावभन्दा अघि परिवारसँग एकअर्काको कुरा गरे । दुवै पक्षको परिवारबाट विवाहका लागि स्वीकृति पाएपछि सम्बन्धमा बसे । उनीहरूले केही समयअघि इन्गेजमेन्ट गरेका थिए ।