महानगरमा अब स्मार्ट पार्किङ

काठमाडौं । काठमाडौं महानरपालिकाले स्मार्ट पार्किङ सुरु गर्ने भएको छ । यही जेठ १६ गते न्युरोडमा स्मार्ट पार्किङ सुरु हुनेछ ।  वैैशाखमै सुरु गर्ने योजना भए पनि प्राविधिक कामहरू सम्पन्न नहुँदा ढिलो भएको हो । महानरपालिकाले हृवील्स टुली योर्स प्रालिसँगको सहकार्यमा स्मार्ट पार्किङ सुरु गर्न लागेको हो  भने न्युरोड र त्योसँगैका ५ स्थानबाट सर्वसाधारणले यो सेवा लिन सक्नेछन् । स्मार्ट पार्किङ सुरु हुनेमा विशाल बजारअगाडि, इन्द्रचोक जाने सडक, धर्मपथ, पाको, आरबी कम्प्लेक्सअगाडि र न्युरोडस्थित रामेश्वर मिठाई पसलपछाडिको भागमा पार्किङ निर्माण गरिने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलको भनाइ छ । 

जेठ १६ गतेबाट १ हप्ताको लागि निःशुल्क पार्किङसहित सेवा सुरु हुनेछ । अहिले व्यस्त बजारमा सवारी लिएर जानुप¥यो भने उपभोक्ताहरूलाई पार्किङ गर्ने ठाउँ खोज्दाखोज्दै दिक्क हुने समस्या कम गर्न स्मार्ट पार्किङ उपयोगी हुने डंगोलको भनाइ छ । काठमाडौं सहरको चरित्र, सरल उपयुक्त र दिगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापन पहिलो प्राथमिकतामा रहनेछ । स्मार्ट पार्किङ सुरु भएका स्थानहरूमा एकपटकमा करिब ८ सयवटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने कम्पनीका सूचना प्रविधि इञ्जिनियर हरिश अग्रवालले बताए । पार्किङको लागि दुईपांग्रे सवारीले  प्रतिघण्टा २५, चार पांग्रेले ६० र ६ पांग्रेभन्दा माथिका सवारीले २ सय रुपैयाँ तिर्नुपर्नेछ ।

स्मार्ट पार्किङका विभिन्न विशेषता छन् । सेन्सरजडित स्मार्ट प्रणालीमा सवारीसाधनको रेकर्ड रहनेछ । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ । यसको एप्लिकेसन एन्ड्रोइड र आइफोन दुवैमा डाउनलोड गर्न सकिने साथै न्युरोड जानुअघि मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सकिनेछ ।  

त्यसैगरी, पार्किङको अवस्था जानकारी दिन एलइडी स्क्रिन राखिएको हुनेछ भने रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर रिजर्भ नभएको पार्किङ गर्ने ठाउँ हेर्नसक्ने व्यवस्थासमेत स्मार्ट पार्किङमा रहनेछ । बिहान ९ बजेदेखि राति ९ बजेसम्म १२ घण्टा स्मार्ट पार्किङ सञ्चालन हुनेछ भने पार्किङका लागि बुकिङ १५ मिनेट अघि मात्र गर्न पाइनेछ । बुकिङ गरेको १५ मिनेटसम्म पनि सवारी पार्किङमा नआए बुक स्वतः रद्द हुनेछ ।