काठमाडौंमा रेलको बहस सुनेर चिनियाँ राजदूत अचम्मित !

काठमाडौं । नेपाल–चीन रेलमार्ग जोड्न तत्काल सम्भव नहुने चीनले प्रष्ट पारेको छ । भौगोलिक विकटताका कारण नेपाल–चीन रेलमार्ग निर्माण अत्यन्त जटील रहेको भन्दै चीनले यो तत्काल सम्भव नहुने जनाएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार दूतावासमा सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै यस्ता परियोजना निर्माणका लागि वैज्ञानिक दृष्टिकोण जरुरी रहेको औंल्याइन् । उनले तत्कालै रेल सञ्चालन हुनसक्ने गरी बाहिर आएका हल्लाका पछि नलाग्नसमेत सचेत गराइन् ।

‘स्पष्ट भन्नुपर्दा प्रस्तावित रेलमार्गको भौगोलिक बनोट साँच्चै समस्यापूर्ण छ’, उनले भनिन्, ‘रेल भिœयाउने कार्य सजिलो छैन । यो आज घोषणा गरेर भोलि पूरा हुने योजना होइन । यो त एक–एक खुड्किलो चढ्दै पूरा हुने विषय हो ।’ उनले काठमाडौंमा रेलको बहस सुनेर आफू अचिम्मत हुने गरेको बताइन् । नेपाल–चीन रेलमार्ग भौगोलिक रूपमा संसारकै अप्ठ्यारो मानिएको भन्दै उनले यसको सफलताका लागि धेरै वैज्ञानिक अध्ययन आवश्यक पर्ने र अझै धेरै विषयमा अध्ययन हुन बाँकी रहेको बताइन् ।

दुई मुलुकबीच रेललगायत बहुआयामिक अन्तरदेशीय पारवहन सञ्जाल विकास गर्ने सहमति भएअनुसारै काम अघि बढ्ने भन्दै उनले त्यसका लागि समय लाग्ने जनाइन् । नेपाल–चीन रेलमार्गको पूर्वसम्भाव्यता भर्खरै सकिएको तथा सम्भाव्यता अध्ययनका बारे छलफल चलिरहेको प्रष्ट पार्दै उनले भनिन्, ‘सम्भाव्यता अध्ययन निकै खर्चिलो पाटो भएकाले यसका मोडलहरूमाथि छलफल भइरहेको छ ।’

तातोपानी नाका अर्को साता खुल्ने

राजदूत यान्छीका अनुसार आगामी सातासम्ममा तातोपानी नाका खुलाउने गरी गृहकार्य भइरहेको छ । मर्मतका सबै काम पूरा भइसकेको जनाउँदै उनले भनिन्, ‘ढिलोमा अर्को साता नाका खुलिसक्छ । यो नाका नेपाल र चीनलाई जोड्ने महŒवपूर्ण सेतु भएकाले सक्दो छिटो सुचारु गर्न लागिएको हो ।’

तातोपानी नाका खुले पनि यात्रुका लागि अहिले यो नाका प्रयोग गर्न नदिइने उनले बताइन् । यो नाकाबाट तत्काल मालवाहक सवारीसाधनमात्र सञ्चालन हुने उनको भनाइ थियो । चीनतर्फको भूभागमा अझै जोखिम कायम रहेकाले पहिलाजस्तै सबैको सहज आवागमनका लागि तत्काल यो नाका नखुल्ने उनले प्रष्ट पारिन् । जोखिम हटाएर चाँडोभन्दा चाँडो नाकालाई पूर्णरूपमा सञ्चालन गरिने प्रतिबद्धता उनले जनाइन् ।